– अनिल खत्री
गुल्मी । हिन्दु नारीहरुको मुख्य चाड हरितालिका तीज पर्व नजिकिंदै जाँदा गुल्मी जिल्लामा तीज गीतहरुको छायांकन शुरु भएको छ । तीज गीतको छायाङकन शुरु हुन थालेपछि जिल्लामा यस पटक भने साउनबाटै तीजको रौनक बढ्न थालेको हो ।
तीज आउन झण्डै डेढ महिना बाँकी भएपनि कलाकार लाई भने तीजको चटारो शुरु भैसकेको छ । कलाकारहरु यतिबेला अन्य बाहिरी कार्यक्रममा भन्दा नयाँ तीज गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउन व्यस्त हुन थालेका छन् ।
लोक तथा दोहोरी गीतमा फरक प्रस्तुति दिंदै आएकी चर्चित गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको स्वरले सजिएको ‘मुखैले ठिक्क बनायौ’ बोलको तीज गीत चाँडै नै बजारमा आउने भएको छ ।

गीतको भिडियो गुल्मीको सदरमुकाम तम्घास धागीथुम स्थित भगवती मन्दिरमा छायांकन गरिएको छ । शुक्रबार उक्त गीतको भिडियो छायाकन गरिएको हो । गीतमा चर्चित शब्द संकलक नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको लय रहेको छ । गीतमा चर्चित नृत्य निर्देशक शंकर बिसी र मोडल रश्मी तामाङ्द्वारा अभिनय गरिएको उक्त गीतको नृत्य निर्देशन शंकर विसीले गरेका छन् भने छायांकन राजेश घिमिरेले गरेका छन् ।
युवा र युवती वीचको प्रेम र वेईमानीको कथामा आधारित उक्त गीत आशिष म्युजिक प्रालिले यही साउन महिनाको तेस्रो सातामा बजारमा ल्याउने तयारी गरेको गायक सन्तु थापाले बताए । गुल्मी जिल्लामा जन्मेका चर्चित गायक गायिकाहरुले बजारमा ल्याएको गीतमा गुल्मेली दिदीबहिनीहरु भिडियोमा देखिएका छन् । आफ्नै ठाउँमा दिदीबहिनी आमाहरुसंग नाँचेर भिडियो तयार गर्न पाउँदा निकै खुसी रहेको गायिका मञ्जु पौडेलले बताइन् । नयाँ शब्द र विषय वस्तुलाई आधार बनाएर बजारमा ल्याउन लागिएको उक्त गीत र भिडियोले स्रोताहरुको माया बटुल्ने बताईएको छ ।
















प्रतिक्रिया