
अर्घाखाँची, ४ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।
शनिबार गृहजिल्ला अर्घाखाँची आइपुगेका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत निरीक्षण गरेका हुन् ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्घाखाँचीमा जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका कार्यालयमा आगजनी भएको थियो ।

सरकारी कार्यालयहरूको सेवा प्रवाह तत्काल सुचारु गर्ने विषयमा समेत मुख्यमन्त्री आचार्यले चासोका साथ छलफल गरेका छन् ।
‘अब सेवा प्रवाह कसरी अघि बढाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । अस्थायी संरचना होस् या त्रिपाल टाँगेर भए पनि जनताको काम गरिनुपर्छ’ मुख्यमन्त्री आचार्यले भने, ‘सबैसँग समन्वय र सहकार्य गरेर सेवा प्रवाहमा जुट्नै पर्छ ।’
जेनजी आन्दोलनका नाममा घुसपैठ भई सरकारी, सामाजिक तथा राजनीतिक संघसंस्था र व्यक्तिगत संरचनामा क्षति पुर्याउने कार्य भएको र ती घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेर कानूनी दायरामा ल्याउन सरोकारवाला पक्षले माग गरेका थिए । यस क्रममा मुख्यमन्त्री आचार्यले घटनाको सबै पक्ष र तहबाट सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताएका थिए ।
आन्दोलनकारीहरुले मुख्यमन्त्री आचार्यको सन्धिखर्कस्थित घरमा समेत आगजनी गरेका थिए । आगजनीले घरमा पूर्ण क्षति पुगेको छ ।












प्रतिक्रिया