काठमाडौं, २७ भदौ । जेनजी पुस्ताको आन्दोलनको दौरान आगजनी, तोडफोड र लुटपाटले भौतिक रूपमा भाटभटेनी सुपरमार्केट ध्वस्त भए पनि फेरि उठ्ने दृढता व्यक्त गरिएको छ। पसलमा पस्ने बित्तिकै देखिने धुलो र जलेको गन्धबीच पनि कर्मचारी आँसु पुछ्दै काममा जुटेका देखिन्छन्।
भाटभटेनी फेसबुकमा सार्वजनिक गरेको सन्देशमा भनिएको छ, “दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं।”
पसललाई खरानीमाथिबाट सफा गर्न जुटेका कर्मचारी, बास्केट र ठेला बोकेर सामान हटाइरहेका युवाहरू, आँसु पुछ्दै ढाडस दिइरहेका ग्राहकहरू – यी सबै दृश्यहरूले भाटभटेनीप्रतिको जनसमर्थन झल्काउँछ।
यो बेला धेरैको स्मृतिमा भाट–भटेनीका संस्थापक मिनबहादुर गुरुङको संघर्ष र त्याग फरी ताजै बनेको छ। सानो किराना पसलबाट सुरु गरेर आज मुलुककै ठूलो सुपरमार्केट श्रृंखला बनाएका गुरुङप्रति जनताले कृतज्ञता र सम्मान प्रकट गरिरहेका छन्। सामाजिक सञ्जालमा “मिनबहादुर गुरुङ हाम्रो प्रेरणा” भन्दै समर्थनका सन्देशहरू ओइरिएका छन्।
कम्पनीले थप भनेको छ, “हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्। भाट–भटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं।”
भौतिक क्षति अपूरणीय भए पनि भाट–भटेनीप्रतिको विश्वास र मिनबहादुर गुरुङप्रतिको श्रद्धाले पुनर्निर्माणको यात्रा अझ दृढ हुने देखिन्छ।















प्रतिक्रिया