विश्वकप फुटबलको रन्को अहिले बिश्वभर लागेको छ । के नेता, के अभिनेता, के कलाकार, के पत्रकार, के किसान, के बिद्यार्थी, के महिला के पुरुष रु सबैलाई विश्वकपको रन्कोले छोएको छ ।
काठमाडौंमा यसो बजार र गाउँतिर हेर्छु, सबैतिर विश्वकपको झल्को दिने गरी जर्सी लगाएको र फुटबल खेलिरहेको देखिन्छन् । यसै सन्दर्भमा मलाई विश्वकपको एउटा सम्झना, सायद कहिल्यै बिर्सन सकिदैन, आयो ।
सन १९९८ को फ्रान्समा भएको विश्वकपको प्रसङ्ग हो, जुन मैले पहिलोपटक हेरेको विश्वकप थियो । त्यसैलाई सम्झना गर्ने प्रयास यो ब्लगमार्फत गरेको छु। तीनताका चन्द्रनिगाहपुरमा बिजुली गईसकेको थिएन । गाउँ (कप्तानटोल) मा टिभी कसैको घरमा नि थिएन । टिभी भन्ने जिनिस हेर्न हामी अर्को गाउँ टेकान टोलस्थित प्रताप लामाको घरमा जान्थ्यौं । सम्भवतः चन्द्रनिगाहपुर उत्तरी भेकमा हामीले थाहा पाएको टिभी भएको घर त्यही एक्लो थियो । त्यसबेला मुख्यतः विश्व घटना, महाभारत र ट्वाक्क टुक्क भन्ने कार्यक्रम मेरा मनपर्ने कार्यक्रममा पर्दथ्यो । गाउँमा टिभी नभएको र टिभी हेर्ने मानिस धेरै हुने भएकाले होला, प्रताप काकाले पनि साँझ परेपछि टिभी आँगनमा ल्याई दिन्थे । त्यहाँ मानिसहरु यति धेरै हुुन्थे कि, अहिलको क्यूएफएक्स र सिटी सेन्टर, गोपीकृष्णमा के भीड हुन्थ्यो ? त्यो बेला सद्यै प्रताप काकाको आँगन हाउसफूल । अघि बस्नेले छेक्यो भने यति ठूलो हल्ला हुन्थ्यो कि मानौं धेरै कुरा गुमिसकेको छ । हल्लापछि काका धम्काउदै भन्थे, ‘धेरै हल्ला नगर है, हल्ला गर्यौ भने टिभी कोठा भित्र लगेर राखिदिन्छु ।’ त्यसपछि त सँधै आफनो मुटु ढुकढुक हुने भन्या । जो हल्ला गर्दथ्यो, त्यसको पहिचान भयो भने त्यसले त्यो दिन टिभी हेर्न पाउँदैनथ्यो । सजाय पाएको आफना आँखाले देखेपछि, ‘माँ कसम’ टिभी हेरुन्जेल कुनै दिन पनि मैले एक शब्द पनि बोलिन्, कसैले छेके पनि ।
कयौं दिन नबोलिकनै आँखा तानीतानी टिभी हेरेर बसियो । विश्वकप आउन थालेको हल्ला प्रताप काकाको घरमा नै सुनियो । र, यो पनि सुनियो कि – ‘विश्वकप हेर्ने जतिले प्रत्येक खेलकोे १–१ रुपैयाँ दिनु पर्नेछ, जसले दिँदैन, त्यसको हेर्ने कुनै ‘चान्स’ छैन् ।’ यो उर्दीले मलाई भने निकै नै फसाद पर्यो । त्यसताका युवामञ्च निकै पढिन्थ्यो, नवयुवा मासिक पनि निकै नै पढिन्थ्यो । त्यहाँ फुटबलको बारेमा धेरै कुरा लेखिएका हुन्थे, भाइचुङ भुटिया, रोनाल्डो, पेले, म्यारोडना, जिनेदिन जिदान आदि आदि । के के हो के-के ?
फुटबल खेलाडी र विश्वकपका बारेमा धेरै पढन थालियो । टिभी हेर्न जाँदाखेरी पनि पेले र म्यारोडनाका धेरैले कुरा गर्थे, आफूलाई भने केही थाहा नाई । त्यो भन्दा ठूलो समस्या यो थियो कि– ‘टिभीमा प्रत्यक्ष विश्वकप हेर्न पाइने हो कि होइन ? प्रताप काकाले त १–१ रुपैयाँ उठाउने कुरा गरिसकेका छन् । झन फाइनलको दिनमा त ५–५ रुपैया उठाउने रे । आर्थिक समस्याले निकै पिरल्यो, भित्रभित्रै भतभती पोल्यो । १–२ दिन भए त बाको खल्तीवाट हालुँला तर गेम हुन्छ, पुरै एक महिना, त्यो पनि राती । कसरी मिलाउने ? सँधैजसो दिनभर तनाव । भन्नु पनि कसरी बा लाई ? दिउँसो त जहाँ गए नि बाले त्यति ख्याल नगर्ने तर राती त घरमा भएन भने के भन्नु अहिले ? सबै थोक भई हाल्थ्यो । पहिला पहिला जति गइयो टिभी हेर्न, भागेर नै जाने गरिएको थियो । दिमाग जति नै चलाए पनि फेल खाने भइयो, यो चाँही पक्का । सार्है नै पीर लागिरहयो । तर अचम्म, ढुंगा खोज्दा देउता मिले जस्तै एउटा घटना गाउँमा घटयो । टोलकै सहपाठी, सँगै पढने (उमेरले चाँही हामी भन्दा अलि धेरै जेठा) विष्णु सापकोटाले बिहे गरे, दाइजोमा आयो– ब्लाकेन ह्वाइट टिभी ।
हे भगवान ! त्यसको बिहेले भन्दा पनि ब्यालेकन ह्वाइट टिभीले हाम्रा ग्यांग भित्र निकै नै खुसीयाली छायो । अब टोलमै नै टिभी (विश्वकप) हेर्न पाइने भइयो, अर्काको टोलमा लुरुक्क परेर टिभी हेर्न जानु चाँही परेन । भागेर गएको बिष्णुको दाजुको जन्तमा नै यो कुरा हामीबीच भयो । भोलीपल्टै सापकोटाको घरमा बाँस गाडेर एन्टेना ठडियो, टोलको जुन ठाउँवाट हेरे पनि त्यो एन्टेना भने मज्जासँग नै देखिने । भोलिपल्ट उसको घर पुग्दा, फुर्ति लगाउँदै भन्यो, मानौं ऊ पुरै अनुभवी मानिस हो । ‘जति अग्लो एन्टेना बनायो, त्यति राम्रो ‘पिक्चर क्वालिटी’ आउँछ ।’ जबकी, बिहे अगाडि टिभी हेर्न प्रताप काकाकोमा हामीसँग ग्यांग मिलाएर जान्थ्यो ।
पहिलो ‘शो’ चाँही उसले आँगनमा राखेर गाउँलेलाई देखायो, त्यो क्षण बास्तबमा निकै खुसीको क्षण थियो, म मात्रै होइन, सारा टोलबासीका लागि । आफनो टोल पूरै श्रब्यदृश्य सामग्री सहित सूचना प्रविधिको क्षेत्रमा पहिलोपटक प्रवेश गर्यो । तर केही सातामा नै अप्ठयारा दिनहरु सुरु भए । कहिले टिभी हेर्न जानेलाई मकै छोडाउन लगाउने, कहिले टिभी कोठामा नपसाई दिने, कहिले टिभी बन्द गरेर सुति दिने । कहिले हेर्दा हेर्दा बन्द गरेर हिँडिदिने आदि इत्यादी । बिष्णु दाजु, टिभी हेराउने सबालमा पहिलाझै पछि सहज हुन छाडेको संकेत क्रमशः देखापर्न थाले तर विश्वकप भने आउनै लागि सक्यो, बढीमा एक साता होला । आफनो त सँगै पढेको साथी, विश्वकप नजिकिदै गर्दा बालै दिन छाडयो । २–२ रुपैयाँ उठाउने, मान्छे हेरी हेरी मात्रै भित्र पसाउने, हिजो दुःख दिनेलाई प्रवेश नगराउने (बदला लिने) मतलब विश्वकप हेर्न पनि सकिने र नसकिने दुवै ‘अप्सन’हरु रहे विश्वकप हेर्न पाइयो भने त ठीकै छ तर पाइएन भने त बबार्द नै हुन्छ । टोलमा टिभी आएर पनि विश्वकप नजिकिँदै गर्दा मन खिन्न पो हुन थाल्यो तैपनि आफू चाँहि पसिन्छ भन्नेमा ढुक्क छु किनकी टिभीवाल मेरो त ‘क्लास मेट’ हो, यति त छुट होला नि भन्ने चाँहि नलागेको होइन् । तर, पनि खै के खै के चाँहि निकै नै भइरहयो । यता टोलको खेल मैदानमा भने एक अर्कालाई पेले, म्यारोडना, रोनाल्डो भन्दै फुटबल भने मज्जासँगै नै खेल्ने क्रम सुरु भइसकेको थियो । खेलाडीको नाम चाँहि गाउँमा पुस्तकालय भएको र त्यहाँ आएका पत्रपत्रिका पढेर थाहा पाउन चाँहि पहिला नै सकिएको थियो । पहिलोपल्ट त्यही साल टोलको खेल मैदानमा, म्यारोडनोको फ्री किक पनि हानियो, पेले झै गोल पनि गरियो । जसले गोल हान्यो, त्यो दिन घोषणा हुन्थ्यो, आजको पेले, आजको म्यारोडना । गोल हान्न पाउँदा त कम छात्ती फुल्दैन्थ्यो, सम्झँदा त अहिले पनि निकै नै रोमाञ्चित भइन्छ हौ । के गर्नु बिष्णु दाजुको ‘ब्लाकेन ह्वाइट’ टिभीले भने सारा टोलबासीलाई दुःख दिइ रहेको थियो । सद्यै मनमा डर हेर्न पाइने हो कि होइन ?
तर, एकदिन गाउँमा अचम्मको खुसी लिएर एउटा खबर आयो । साथीले खेल मैदानमा नै सुनायो, – ‘विश्वकपलाई लक्षित गरेर अर्को ब्लाकेन ह्वाइट टिभी टोलमा भित्रियो ।’ त्यो दिनको अझै मलाई सम्झना छ, मैले त्यही दिन पहिलोपटक लगालग दुई गोल हाँनेँ । ‘बिष्णु भन्नेले विश्वकप हेर्न नदिए पनि अब चिन्ता छैन मनमा किनकी केबल (गौतम) दाईले टिभी ल्याएका छन् ।’ त्यसमाथि, केबल दाईको भाञ्जा मेरा त मीतज्यू हुन, म त परि गएँ नी मित भाञ्जो । गर्वका साथ जसरी पनि ‘चान्स’ छ । साथीहरु मलाई भन्न थाले, ‘बिष्णेले जस्तै यहाँ पनि रयाक भयो भने त बोर हुन्छ यार ।’ त्यसमाथि केबल दाईको त्यो घर, आँगन पहिला हाम्रो नै थियो, झापावाट बसाई सरेर आएका उनीहरुलाई हाम्रा बाले नै बेचेका हुन् । त्यसमाथि अर्को बलियो तर्क मेरो थियो र म छात्ती फुलाउँदै भन्थे, ‘नडराओ केटा हो, केबल दाई त मेरा मीत मामा हुन, मेरो त फ्रीमा नै चान्स छ, तिमीहरुलाई पनि छिराई दिनु पर्यो भनेर भन्छु, मामालाई सोर्स लाउन म मीतज्यूलाई पनि भन्छु नि ।’ केटाहरु सँधै मबाट ढुक्क भएँ तर मलाई भने कता कता डर चाँही लाग्थ्यो– ‘कतै मामालाई मलाई नै बालै दिएनन भने त ? बबार्द हुन्छ ।’ तैपनी मसँग एउटा अप्सन खुल्ला थियो, ‘केही गरी विश्वकप हेर्न केबल दाईले दिएनन भने उनको भाञ्जासँग लगाएको मीत नै तोडिदिने र फूटबल मैदानमा मीतलाई नै बाइकेट गराई दिने ।’ यसमा चाँही म ढुक्क थिएँ ।
तर, विश्वकप उदघाटनको दिन केबल दाईले आँगनमा टिभी ल्याउनु भयो । सबैले देख्ने गरी कुर्सी माथी ब्लाकेन ह्वाइट टिभी राखियो । हामी पुग्दा आँगनमा मान्द्रो पनि बिच्छाइएको थियो र गुन्द्री पनि । त्यसपछि त स–सम्मान सबैलाई हेराउने योजना नै बनाइएको रहेछ भन्ने बुझ्न कुनै गाह्रो भएन । टिभी त चल्यो तर झ्यार झ्यार भने आइरहयो । काठमाडौं बसेर, सहर घुमेर टिभी हेर्ने मध्ये एउटाले ‘अलिकति एन्टेना घुमाउ, उत्तर पश्चिमतिर पार’ भनेर निर्देशन दियो नभन्दै टिभी क्लिएर आयो । त्यसपछि, साहसीको एक मात्रा चाहाना– खकुरी चुरोट, टुर्बोग बियर, आइसबर्ग बियरका बिज्ञापन आउन थाल्यो । एकछिन पछि उदघाटन सत्र सुरु भयो र फ्रान्समा भएको सो गेम लाइभ नै हेरियो । कम्ती खुसी भइएको थिएन, त्यो दिन । मानौं, संसार नै जिते जस्तै भयो ।
गेम सकियो, घर फर्कियो तर विष्णु दाजुको घर बाटैमा पर्दथ्यो । उनको घर नजिक पुगे पछि हाम्रो ग्यांगले कराएर भन्यो, ‘आफूले कमाएर किनेको भए पनि हुन्थ्यो, दाइजो आएको ब्ल्याकन ह्वाइट टिभीको पनि यत्रो धाक लगाउने ?’ ठुल–ठुला स्वरमा (विष्णु दाजुको परिवारले सुनुन नै भनेर) हामीले पिन्च हान्दै कुरा सुनाउने काम गर्यौ र बिष्णु दाजु आए को हो कराउने भन्दै तल झरेको थाहा पाए पछि चाँहि सुइकुच्चा ठोक्यौं । त्यसपछि दिन–दिनै केबल दाईको घरमा गएर विश्वकप हेर्यौं । मामाघर नै भए पनि के गर्नु ? कुनै–कुनै दिन चाँही मकै छोडाउन हजुरआमाले सबैलाई लगाउनुभयो । तर, बिष्णु दाजुले पनि विश्वकप चाँही फ्रीमा नै हेराएछन है, कसैसँग पनि पैसा लिएन छन् । सबाल जो टोलमा प्रतिस्पर्धाको भयो ।
(prakashujyalo.blogspot.com)













प्रतिक्रिया