वासिङ्गटन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानको प्रस्तावनामा राख्न सुझाव पेश गरेको छ ।
नेजाका अध्यक्ष गौतम दाहालको नेतृत्वमा नेपाली राजदूतावास वासिंगटन डिसीमा गएको नेजाको एक प्रतिनिधि मण्डलले सोमवार अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्कीलाई हस्तान्तरण गरेको मस्यौदा संविधानको सुझावमा यस्तो उल्लेख छ ।
नेजाले संविधानको प्रस्तावनाको सौह्रौ लाईनमा रहेको प्रेस स्वतन्त्रतालाई पूर्ण प्रेस स्वतन्त्रता राख्न अनुरोध गरेको हो । नेजाले पेश गरेको सुझावमा भनिएको छ,–‘अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताबाट अलग हुनु भनेको कुनै न कुनै प्रकारको निरंकुशताको परिकल्पना होु भन्ने नेजाको ठहर रहेको छ ।’
नेजाले राजदूत कार्कीमार्फत हस्तान्तरण गरेको सुझावमा भनिएको छ–‘पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकको पूर्ण प्रत्याभूति, सुशासन, पारदर्शीता र जवाफदेही सरकार लोकतन्त्रका सूचक भएको हुन् । तसर्थ पूर्ण प्रेस स्वतन्त्रताले जनताले सूसूचित हुन पाउने नैसर्गिक अधिकारको ग्यारेन्टी समेत गर्दछ ।’

सुझाव ग्रहण गर्दै राजदूत कार्कीले नेजाको सुझावलाई मस्यौदा समिति समक्ष पठाईने जानकारी दिनुभयो । कार्कीले भन्नुभयो –मस्यौदामा आप्रवासी नेपालीहरुले दिएका चासो,सुझावले विदेशमा रहेर पनि नेपालीहरु देशको भविष्यमा चिन्तित रहेको पाएको छु, यो सुखद पक्ष हो । कार्कीले कूटनीतिक हैसियतले नेपाली डायस्पोरालाई सहभागी वनाउँदै अगाडि बढ्ने काम समेत भएकाले अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुसँग छलफल र सहकार्य गर्न आफू सधैं तयार रहेको बताउनुभयो ।
नेजाका अध्यक्ष गौतम दाहालले सुझाव पत्र राजदूत कार्कीलाई हस्तान्तरण गर्दै मूल कानून संविधान भएकाले संविधानलाई नागरिकको अधिकतम अधिकारलाई संरक्षण गर्नुपर्ने वताउनुभयो । नेजाको तर्फवाट अध्यक्ष गौतम दाहाल, सल्लाहकारहरु गिरीश पोखरेल र कृष्णप्रसाद शर्मा, क्षेत्रीय संयोजक विश्वराज थापा, कार्यकारी सदस्य मधुकर अधिकारी, संस्थापक कोषाध्यक्ष गुणराज लईटेल, लेखनाथ भण्डारी, भरत बराईली, अंकुश नेपाल, जीतमान वस्नेत लगायतका सहभागी हुनुभएको थियो ।















प्रतिक्रिया