काठमाडौँ । संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलन गर्न नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा अधिकांश वक्ताले अब बन्ने नयाँ संविधानमा राजनीति गर्ने सबैको शैक्षिक योग्यता र उमेरको हद तोकिनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा संविधानको मस्यौदामाथि सुझाव दिँदै अधिकांश वक्ताले गम्भीर प्रकृतिका अपराधका साथै भ्रष्टाचारी, दुराचारी र बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्ने सुझाव दिएका छन् । इन्दु थापाले बलात्कार गर्नेको लिङ्ग छेदन गर्नुपर्ने व्यवस्था नयाँ बन्ने संविधानमा राख्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा कार्यकारी प्रमुख जनताद्वारा प्रत्यक्ष निर्वाचित हुनुपर्ने, बहालवाला न्यायाधीशमाथि पनि छानबिन गरी भ्रष्टाचारको कारवाही गरिनुपर्ने, स्वरोजगार भत्ताभन्दा पनि रोजगारको सुनिश्चित हुनुपर्ने, जातका आधारमा नभई वर्गका आधारमा आरक्षण हुनुपर्ने, छुवाछूतको अन्त्य हुनुपर्ने, राजनीतिक नेतृत्वमा अध्यात्म ज्ञान हुनुपर्ने, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने, प्रस्तावनमा मधेस आन्दोलन उल्लेख गरिनुपर्ने सुझाव आएका थिए ।
जितेन्द्रदेवी काफ्ले र विष्णुप्रसाद तिमिल्सिनाले ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष भन्न नमिल्ने बताउँदै सनातन हिन्दू राष्ट्र नै कायम राख्न सुझाव दिनुभयो । सुझाव लिँदै सभासदहरुले संविधान यो व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।













प्रतिक्रिया