
जनकपुर, ३१ साउन । विद्युतिय सुरक्षामा सावधानी नअपनाउँदा मधेश प्रदेशमा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । करेन्ट लागेर मृत्यु भएकाहरुमध्ये अधिकांश किसान नै रहेको तथ्याङ्कले देखाएको छ ।
पर्याप्त पानी नपर्दा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गरिने क्रममा असावधानीका कारण करेन्ट लागेर खेतमै ज्यान गुमाउने किसानको सङ्ख्या अधिक रहेको पाइएको छ । मधेश प्रदेशका आठ वटै जिल्लामा धान खेती समयमा पानी कम हुँदा वा वर्षा नहुँदा बोरिङ, नहर, कुलो, पैनी, पोखरी, नदीमा पानी तान्ने मोटर लगाएर खेत सिँचाइ गर्ने बाध्यात्मक अवस्था रहेको छ ।
खेतमा सिँचाइ जस्तै घरको चापाकलमा पानी तान्न जडान गरिएको मोटरबाट करेन्ट लागेर पनि मृत्यु भइरहेको घटनाहरू केही बाहिर आउने गरेका छन् ।
तीन वर्षमा ३२४ जनाको करेन्ट लागेर मृत्यु भइसकेको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा करेन्ट लागेर ११९ जनाको मृत्यु भएको छ । मृतकमध्ये पुरुष ८४, महिला १८ बालक १३ र बालिका चार जना रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
यस्तै, अघिल्लो आर्थिक २०८०÷०८१ मा करेन्ट लागेर ७० पुरुष, २२ महिला, पाँच बालक र एक बालिका गरी ९८ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा १०७ जनाको करेन्ट लागेर मृत्यु भएको छ । जसमा पुरुष ८३, महिला १४, बालक तीन र बालिका सात जना रहेका छन् ।








प्रतिक्रिया