८ कार्तिक २०८३, आइतबार

भूकम्पपछि सोत्तर बनेको लाङटाङ पुग्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Langtang-Ashok-Silwal2

भूकम्पपछि त्यहाँकोे परिवेश अहिले पनि पुरानो लयमा आइसकेको त छैन । तर, विस्तारै त्यसतर्फ उन्मुख भने देखिन्छ । त्योबाहेक लाङटाङसँग अर्को विकल्प पनि त छैन । लाङटाङ पुर्नजीवनको प्रतीक्षामा छ । सुस्तरी त्यसका सुन्दर संकेत देखिन थालिसकेका छन् ।

– अशोक सिलवाल,  पत्रकार एवं लेखक

१२ वैशाखको भूकम्प र हिमपहिरोपछि पत्रकार, लेखक र टुर गाइडको रुपमा पहिलोपटक झन्डै ४ हजार मिटर उचाइमा रहेको लाङटाङ क्षेत्रको अन्तिम गाउँ क्यान्जीङ गुम्बासम्म पैदल पुगेर भर्खरै काठमाडौँ फर्केका छन्, अशोक सिलवाल । पछिल्लो समय पर्यटनसँग नजिकिएका सिलवालले लाङटाङका दुर्दशासँग सुन्दर संकेत देखेर आएका छन् ? कहिले उठ्ला त लाङटाङ ?

Langtang-Ashok-Silwal1

क्षतविक्षत लाङटाङ र सुन्दर संकेत

विनाशकारी भूकम्प र हिमपहिरोपछि लाङटाङ क्षेत्र एकाध दिन मानवबिहीन नै भयो । स्थिति यतिसम्म भयो कि उद्धारमा जानसक्ने स्थिति समेत भएन । त्यहाँ मानव बस्ती असम्भव छ भन्नेसम्मका प्रचार भए । के स्थिति त्यस्तै थियो त ? निट अध्यक्ष दीपक महतसहित लाङटाङ मेनेजमेन्ट रिकन्स्ट्रक्सन कमिटीका साथीहरुसहित एउटा भेला भयो र यो अध्ययन यात्रा गर्ने निश्चित ग¥यौं । अध्ययन यात्रा गरिसकेपछि म यति भन्न सक्छु, अहिले स्थिति केही मात्रामा भए पनि फेरिएको छ । यद्यपि बर्षायामको कारण त्यो क्षेत्र अहिले पनि खतरामुक्त भने छैन । खासगरी बाटाहरुमा पहिरोका अनेक खतराहरु हामीले यात्राका क्रममा पनि देख्यौं भोग्यौं । भूकम्पपछि त्यहाँकोे परिवेश अहिले पनि पुरानो लयमा आइसकेको त छैन । तर, विस्तारै त्यसतर्फ उन्मुख भने देखिन्छ । त्योबाहेक लाङटाङसँग अर्को विकल्प पनि त छैन । लाङटाङ पुर्नजीवनको प्रतीक्षामा छ । सुस्तरी त्यसका सुन्दर संकेत देखिन थालिसकेका छन् ।

Langtang-Ashok-Silwal5

लाङटाङको भूगोलले पर्यटक आइज भन्छ कि नआइज ?

त्यसो त बर्षाको यो मध्यसमय त्यसै पनि पहाडी र हिमाली क्षेत्र पर्यटकीय यात्राको लागि अनुकुल समय होइन । तर, बर्षाको समाप्तिसँगै पर्यटकलाई लाङटाङले झन् बढी मायालु भएर कुरिरहेको छ । हिमाल हाँसिरहेको छ । फूलहरु फूलिरहेका छन् । हो, घर, होटल र लजहरु भत्केका छन् । तर, अनगिन्ती आफन्तका जीवन गुमाएर पनि लाङटाङबासीले आफ्नो मनलाई साँचेका छन् । ती मनहरु पर्यटकको स्वागत गर्न आतुर छन् । लाङटाङको त्यो सबैभन्दा ठूलो शक्ति हो । अझ महत्वपूर्ण कुुरा, विश्वका अनेक मान्छे लाङटाङ आउन आतुर छन् । उनीहरुलाई हामीले थोरै भए पनि सेवा दिन सक्नु पर्छ । सहज बाटोघाटो, सुविधायुक्त होटल र लज अहिले त्यहाँका आवश्यकता हुन् । त्यसका लागि लाङटाङबाट काठमाडौँ ल्याइएका स्थानीय आफ्नै थाँतथलो फर्कन आतुर छन् । त्यसका लागि उनीहरु सरकार र अन्य सरोकारवाला निकायको प्रभावकारी सहयोग पर्खिरहेका छन् । उनीहरु गाउँ जान चाहन्छन् । फर्केर पर्यटकको स्वागत गर्न चाहन्छन् ।

अस्तव्यस्त जनजीवन

त्यहाँ अहिले पनि सबै गाउँले फर्किसकेका छैनन् । स्थानीय ११ जनासहित हामी १५ जनाको टोली धुन्चे सदरमुकामबाट अलिपर रहेको स्याफ्रु्सीबेसीबाट २२ असारमा लाङटाङतर्फ उक्लियौं । विनाशकारी भुकम्प र हिमपहिरोपछि लाङटाङतर्फ पैदल उक्लेको त्यो सबभन्दा ठूलोे समूह भएको स्थानीय बताउँदै थिए । तर, हेलिकप्टरबाट क्यान्जीङमा ६० भन्दा बढी स्थानीय गइसकेको भर्खरै गठित लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीका साथीहरुले मलाई बताएका छन् । फर्केकाहरुमध्ये केहीसँग मैले क्यान्जीङमा छलफल पनि गरेको थिएँ । उनीहरु हिमाली हावापानीमा पर्यटकलाई स्वागत गर्दै लामखुट्टे र गर्मी बिनाको आधुनिकता मिसिएको परम्परागत जीवन बाँच्न चाहन्छन् । एक ठाउँमा घर, अर्को ठाउँमा गोठ र अर्को ठाउँमा होटल । त्यहाँ त्यस प्रकाको मिश्रित र चलायामान जीवन रहेछ । चिसो मौसममा तल झर्ने र न्यानोमा माथि उक्लने । तर, अहिले त्यहाँ करु र हुर्किन नसकेका आलुहरु टुहुराजस्ता भएका रहेछन् ।

Langtang-Ashok-Silwal

लाङटाङ गाउँ अब स्मृतिमा मात्र

भूकम्प पछि लाङटाङ अन्य ठाउँहरुजस्तो किन पनि उठिसकेका छैन भने, त्यो जति सुन्दर छ उति नै विकट पनि छ । तर, राज्यले त्यसो भन्न पाउँदैन । त्यहाँका मान्छेलाई काठमाडौँमा ल्याएर तत्कालका लागि उद्धार गर्नु एउटा कुरा हो तर फेरि पनि उनीहरु गाउँमै पुनस्थापित हुन चाहन्छन् । अहिले उनीहरुका घरहरु छैनन् । लाङटाङ गाविसको लाङटाङ गाउँ अब स्मृतिमा मात्र छ । तर, उनीहरु आफ्नै माटोमा भविष्यका दैनिकी बुन्न थालिसकेका छन् । तिनलाई राज्यले कसरी सम्बोधन गर्ला ? त्यो भने हर्न बाँकी नै छ । तर, भुकम्पपछि सेना, सशस्त्र र जनपद प्रहरी मिलेर १३ किलोमिटरको सानो ट्रयाक खोलेको तर त्यो बर्षाले भत्काइसकेको हुनसक्ने अनुमान ती निकायका अधिकारीहरुले मलाई धुन्चेमा सुनाएका थिए । कति ठाउँमा ती ट्रयाक बाँकी भए पनि कति ठाउँमा तिनको कुनै नामोनिशान छैन । त्यसका लागि तत्काल र दिर्घकालीन दुवै हिसाबले सरकार अग्रसर र सक्रिय हुन जरुरी छ ।

भूकम्पअघि र पछिको लाङटाङ

लाङटाङको सौन्दर्य नित्य निरन्तर हो । यद्यपि जीवनबिनाको सौन्दर्य अर्थहिन हुन्छ । तर, हामीसँगै ११ जना स्थानीय पैदल आफ्नो गाउँ जाँदै थिए । आफ्नो गाउँ कति प्यारो हुन्छ, ठाडो उकालोमा समेत गाउँतिर हतारिएका उनीहरुका पदचापहरुले भनिरहेका थिए । तर, अब फेरि पनि लाङटाङ उस्तै हुनेछ, जस्तो पहिले थियो । अझ त्योभन्दा राम्रो हुनेछ । त्यसका अनेक कारण छन् । बाटो मर्मत हुनेछ । घरहरु बन्नेछन् । होटल र लज पनि बन्नेछन् । गाउँलेहरु फर्कने छन् । स्थानीय आत्मियता, हाँसिरहेको हिमाल र लेकाली फूलहरुले लाङटाङ फेरि उभिनेछ ।

Langtang-Ashok-Silwal3

भाँचिएको छैन मन

लाङटाङबाट विस्थापित भएर काठमाडौँस्थित स्वयम्भुको पहेंलो गुम्बामा बसिरहेकाहरुमध्ये एकजना महिलालाई भेटेको थिएँ । उनको खुट्टा भाँचिएको थियो । तर, उनको कुरा सुन्दा लाग्यो लाङटाङ जाने उनको मन भाँचिएको छैन । उनी एकजना प्रतिनिधि हुन्, जसले आम लाङटाङबासीको चाहनालाई प्रकट गर्छ । स्थानीयको लागि लाङटाङ भूगोलमात्र होइन, पहिचान र जीवनशैली पनि हो । संस्कृति र सभ्यता हो । स्थानीय हावा र आकाशलाई उनीहरु प्रेम गर्छन् ।

स्वर्गको अनुभुति

स्थानीयका अनुसार ६/७ सय बर्ष पुरानो यो गाउँ भन्नु हिमाल त हुँदै हो । हामीले के बुझ्नु पर्छ भने, हिमाल भूगोल मात्र होइन, सभ्यता पनि हो । जहाँ पुग्दा जीवन र जगतको गहिरो सत्य अनुभुति हुन्छ । त्यो क्षेत्र जति उचाइमा छ, त्यसको सभ्यता उति नै गहिरो हुनसक्छ । स्थानीय संस्कृति, कृषि, हिमाली हावापानी, जनावर र अनेक चुम्बक होलान् त्यहाँ । त्यसैले पनि प्रत्येक सिजनमा त्यहाँ नौ हजारभन्दा बढी विदेशी पर्यटक जाने गर्थे रे । जता हेरे पनि आँखै सामुन्ने हिमालमात्र देखिने लाङटाङ क्षेत्रको अन्तिम गाउँ क्यान्जीङ गुम्बा पुग्दा यात्राका सारा जोखिम र दुख बिर्सेर मैले स्वर्ग भनेको यस्तै हुन्छ होला भन्ने मात्र सोचें ।

प्रस्तुतिः कमलराज भट्ट / दैनिक नेपाल