
काठमाडौं, २८ साउन । ट्रिनिडाडमा भएको तेस्रो र अन्तिम ओडिआईमा मोहमद रिजवान कप्तानीमा रहेको पाकिस्तान ९२ रनमा अलआउट गर्दै घरेलु टोली वेस्ट इन्डिजले २ सय २ रनले पराजित गरेको छ ।
योसँगै वेस्ट इन्डिजले ओडिआई सिरिज २–१ ले आफ्नो पक्षमा पार्दै मंगलवार ऐतिहासिक जित दर्ता ग¥यो । २ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका कुनै पनि ब्याटरले सम्हालिएर खेल्न सकेनन् ।
बाबर आजमले पछिल्ला ७२ इनिङमा अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउन सकेका छैनन् । उनी यो खेलमा मात्र ९ रन बनाएर पेभिलियन फर्किए ।
पाकिस्तानका साइम अय्युब, अब्दुल्ला शफिक, रिजवान, हसन अली र अब्रार अहमद गरि ५ ब्याटरले खाता नै खोल्न सकेनन् । वेस्ट इन्डिजका लागि जेयडेन सिल्स उत्कृष्ट प्रदर्शन गर्दै ७.२ ओभरमा मात्र १८ रन खर्चिएर ६ विकेट लिए । गुडाकेश मोटीले २ विकेट र रोस्टन चेसले १ विकेट हात पारे ।
पाकिस्तानलाई २९.२ ओभरमै समेट्दै वेस्ट इन्डिजले सन् १९९१ पछि पहिलो पटक द्विपक्षीय ओडिआई सिरिज जितेका छन् ।








प्रतिक्रिया