सप्तरी, ५ साउन । संविधानसभाको मस्यौदाको विरोधमा उत्रिएका मधेसवादी दलका कार्यकर्तामाथि प्रहरी प्रशासनले गरेको दमन र कुटपिटको विरोधमा आज आह्वान गरिएको तरार्ई—मधेस बन्द कार्यक्रमअन्तर्गत सप्तरीमा बन्दको व्यापक असर परेको छ ।
बन्दकर्ताले आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका यातायात ठप्प पारेर नाराबाजी गर्दै बन्द गराएका छन् भने शिक्षण संस्था, बजार, पसल, उद्योगधन्धा र कलकारखानासमेत बन्द गराएका छन् ।
त्यस्तै, पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको भारदह, रुपनी र कल्याणपुरको विशनपुरचोकमा समेत आज बिहानैदेखि मधेसी नेता तथा कार्यकर्ताले राजमार्ग अवरुद्ध गरी बन्द गरेको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले बताउनुभयो ।
आज बिहानदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिमबाट आउनेजाने सयौँ सवारी साधन राजमार्गमै थन्किएका छन् । तर अहिलेसम्म कुनै किसिमको अप्रिय घटना नभएको र थप घटना हुन नदिनका लागि ठाउँ ठाउँमा प्रहरी प्रशासन तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच, बन्दकर्ताले जिल्लाका विभिन्न ठाउँमा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेको बताइएको छ । रासस















प्रतिक्रिया