विराटनगर, २९ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले पान, चुरोट र खैनीसेवनले आफूलाई क्यान्सर लागेको बताएका छन्। प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले रोग लुकाएर लुक्न नसक्ने बताउँदै आफूलाई क्यान्सर भएको सार्वजनिक गरे।
‘पान, चुरोट, बिँडी र खैनी खानेलाई क्यान्सर हुन्छ, मलाई पनि त्यही भएको हो,’ कांग्रेस सभापति कोइरालाले भने, ‘यसमा लुकाउने कुरा के छ र ? जिब्रोको अपरेसन गरेकै हो।’
निजी चिकित्सक करवीरनाथ योगीले मंगलबार फोक्सोमा दाग देखिएको पुष्टि गर्दा प्रधानमन्त्री कोइराला विराटनगर आउन जहाज चढिसकेका थिए।
विराटनगर विमानस्थलमा स्वागत गर्न पुगेकाहरू प्रधानमन्त्रीको स्वास्थ्यप्रति चिन्तित थिए। प्रधानमन्त्रीको कारगेडमा एम्बुलेन्स गाडी पनि थपिएको थियो।
‘भिआइपीको कारगेडमा एम्बुलेन्स राख्नु अनिवार्य भए पनि नेपालमा त्यति प्रयोगमा छैन,’ मोरङका एक सुरक्षा अधिकारीले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै कारगेडमा एम्बुलेन्स थपिएको हो।’
कोइरालाले नेपालका डाक्टरले जाँच्दा फोक्सोमा एउटा दाग देखिएको बताएकाले त्यसलाई क्लियर गर्न अमेरिका जान लागेको बताए। ‘अब त्यहाँ अमेरिकाका सम्बन्धित डाक्टर कहिले उपलब्ध हुन्छन्, त्यही मौका पारेर जान्छु,’ उनले भने। नागरिक दैनिकबाट













प्रतिक्रिया