८ कार्तिक २०८३, आइतबार

सुन्दरीजलको महाँकाल गाउँ पहिरोको उच्च जोखिममा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pahiroकाठमाडौँ, ५ साउन । गोकर्णेश्वर नगरपालिका–३ सुन्दरीजलको महाँकाल गाउँका १०३ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

भूकम्पले धाँजा फाटेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट पहिरो खस्न थालेपछि यी घर जोखिममा परेको स्थानीयवासीले बताएका हुन् । ढुङ्गासँगै धाँजा फाटेको जमिन पनि फेरि खस्ने भयमा बाँच्नुपरेको उनीहरुको भनाइ छ ।

“महाँकाल गाउँमा रहेका १५३ घरधुरीमध्ये १०३ घरधुरी पहिरो र ढुङ्गा खसेको मुनिरहेको छ । पहिरो गएको स्थानमा निस्किएको ठूलो ढुङ्गा खस्ने डरले आतङ्कित भएर बस्नुपर्ने बाध्यतामा छौँ, निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले ढुङ्गा फुटाउन नदिँदा हामी पीडित भई बस्नुपरेको छ”– स्थानीय रमेश सिम्खडाले भन्नुभयो ।

निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहता भने बस्ती जोखिममा परेको ढुङ्गा फुटाउन कार्यालयका तर्फबाट नरोकिएको बताउनुहुन्छ । “भूकम्पलगत्तै निकुञ्जभित्रबाट आई रुखमा अड्किएर बसेको ठूलो ढुङ्गाले गाँगलफेदीको विद्यालय जोखिममा पर्दा फुटाउन निर्देशन दिएका थिए, पहिरोबाट निस्किएको ढुङ्गा पनि फुटाएर बस्ती जोखिम मुक्त गर्न रोक्दैनौँ, सेनासँग पनि समन्वय गरेर काम गछौँ”–उहाँले भन्नुभयो ।

यस सम्बन्धमा निकुञ्जको सुरक्षार्थ खटिएको नयाँ श्रीनाथ गणका गणपति निर्जल अधिकारीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

सोमबार संविधानको सुझाव सङ्कलनका लागि सुन्दरीजल आउनुभएका पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पहिरो गएको स्थान र जोखिममा परेको बस्तीको निरीक्षण गर्दै ढुङ्गा फुटाई बस्तीको जोखिम अन्त गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस