२६ जेष्ठ २०८३, मंगलबार

पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


वीरगञ्ज (पर्सा), २५ साउन । पर्साको ठोरी गाउँपालिका–४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा पाटे बाघ भेटिएको छ । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले आज विहान ७ः३० बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटे बाघ मृत अवस्थामा भेटिएको जानकारी दिए ।

“ठोरीका स्थानीयले पाटे बाघ मृत अवस्थामा भेटिएको सूचना दिएपछि प्रहरी चौकी विजयबस्तीबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएर छ, अहिले अनुसन्धान भइरहेको छ”, उनले भने, “पर्सा राष्ट्रिय निकुञ्ज आधारभार र नेपाली सबुज गणको टोली पनि आवश्यक अनुसन्धानका लागि गएको जानकारी प्राप्त भएको छ ।”

पर्सा प्रहरीका अनुसार प्रहरीचौकीबाट सो स्थान चार किलोमिटर दुरीमा पर्छ । पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको जानकारी दिए ।

“पाटेबाघको बाहिरीभागमा सामान्य चोटपटक देखिएको छ भन्ने सुन्नमा आएको छ । बाघ जुँधेर हो वा अन्य के कारणले चोटपटक लागेको हो भन्नेबारे शव परीक्षणपछि नै थप जानकारी प्राप्त हुनेछ”, उनले भने ।