
काठमाडौं, २० साउन । अस्ट्रेलियामा अर्को साता सुरु हुने टप इण्ड टि ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।
स्कटल्याण्डमा भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजका टोलीमा रहेका किरण कुमार ठगुन्ना, बसिर अहमद र अनिल साह टोलीमा छैनन् ।
अलराउण्डर कुशल मल्लले केही समयको विश्राम पछि टोलीमा पुनरागमन गरेका छन् । चोटका कारण त्रिकोणात्मक सिरिज गुमाएका सोमपाल कामी र गुलशन झाले पनि यस टोलीमा स्थान बनाएका छन् ।
नेपाली टोलीले स्ट्राइकसँग अगस्ट १५ मा खेल्दै प्रतियोगिताको को सुरुवात गर्नेछ । एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ ।
सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यस्तै सिरिजमा बिबिएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरुको सहभागी हुने छन् । स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने छ ।
खेलतालिका अनुसार खेलहरु ५ वटा स्थानिय मैदानमा हुनेछ । अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।








प्रतिक्रिया