३० आश्विन २०८३, शुक्रबार

डेभिस कप २०२५ छनोट प्रतियोगिता २ जुनदेखि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ३१ असार । नेपाल टेनिस संघले जुलाई १४ देखि मलेसियामा आयोजना हुने डेभिस कप २०२५ (ग्रुप–४) प्रतियोगिताका लागि नेपाली टिम छनोटका उद्देश्यले २ जुन २०२५ (सोमबार)देखि छनोट प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

संघका अनुसार कुल ४ जना खेलाडी मलेसियामा हुने प्रतियोगिताका लागि छनोट गरिनेछ । तीमध्ये एक खेलाडीलाई अन्तर्राष्ट्रिय टेनिस महासंघ आईटीएफ वा एटीपी रैंकिङको आधारमा र एक जनालाई राष्ट्रिय रैंकिङमा पहिलो स्थानमा रहेका खेलाडीको रूपमा प्रत्यक्ष संरक्षण दिइनेछ । बाँकी २ जना खेलाडीका लागि प्रतिस्पर्धात्मक छनोट प्रतियोगिता आयोजना गरिनेछ । यदि कुनै पनि खेलाडीले आईटीएफ वा एटीपी रैंक नपाएको खण्डमा भने राष्ट्रिय रैंकको नम्बर १ खेलाडीलाई समावेश गरी बाँकी ३ स्थानका लागि छनोट प्रतियोगिता गरिने संघले जनाएको छ ।

संघले अद्यावधिक राष्ट्रिय सिडिङअनुसार शीर्ष ८ स्थानमा रहेका खेलाडीलाई छनोट प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको छ । आवश्यक परेमा त्यस सूची बाहिरका खेलाडीहरूलाई समेत प्रतिस्थापनको रूपमा समावेश गरिने संघले जनाएको छ । साथै, नेपालबाहिर रहेका योग्य नेपाली खेलाडीहरूबाट अधिकतम ४ जनालाई आवेदनको आधारमा छनौटमा सहभागी गराइने बताइएको छ ।

छनोट प्रतियोगिता सातदोबाटो टेनिस कम्प्लेक्स, ललितपुरमा बिहान ८ः०० बजे साइन–इनपछि सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले साइन–इन अनिवार्य रूपमा गर्नुपर्नेछ । संघले स्पष्ट पारेको छ कि आईटीएफ/एटीपी रैंक प्राप्त वा नेशनल नम्बर १ खेलाडीहरूले छनोट प्रतियोगिताको २ हप्ता अगाडि, अर्थात् २०२५ मे १९ भित्र संघमा औपचारिक निवेदन दिनुपर्नेछ । त्यस समयसम्मको अद्यावधिक सिडिङलाई छनौट आधार मानिने संघले जनाएको छ ।

नेपाल टेनिस संघले यस प्रक्रियामार्फत निष्पक्ष र प्रतिस्पर्धात्मक छनोट सुनिश्चित गर्दै नेपालको प्रतिनिधित्व गर्ने बलियो टोली चयन गर्ने विश्वास व्यक्त गरेको छ ।