२९ आश्विन २०८३, बिहिबार

मै जिरे खलासी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prashant‘ए जिरे, गाडी राम्ररी सफा गर,’ मोटे गुरुजीको आदेश । मोटेले आदेश नदेको कहिले नै हुन्छ र ? उनको काम नै मलाई गाली गर्ने र आदेश दिने त हो । हुन त गाडी पनि चलाउँछन् बुढाले । तर, मलाई गाली नगर्दा उनको खाना चैँ पच्दैन ।

‘मोटे गुरुजी’ गाडीको ड्राइभर, जसमा म खलासी गर्छु । गाडीमा खलासी गर्न आउँदा मेरो कद सानो थियो । त्यसैले ड्राइभरले ‘जिरे’ नाम दिएर मेरो अर्कोे न्वारन गरेका । मोटे गुरुजीले गरेर मेरो अहिले सम्म चारपटक न्वारन भइसकेको छ । नाम पनि चार पुगिसके ।

जन्मेको ११ औं दिनमा आमाबाउले जगन्नाथ नाम राखेका थिए । सायद बाहुनले दिएको नाम हुँदो हो त्यो । त्यसपछि पल्लाघरे बाजेले मेरो नाम राखे ‘जग्गु’ । साथीहरुले जिस्क्याएर ‘हग्गु’ भन्थे । अहिले पनि भन्छन् जिस्क्याउँदा । खलासी काम गर्न थालेपछि ‘जिरे’ भएको छु । थाहा छैन बद्लिदो जीन्दगीको परिवेशसँगै मेरा नाम पनि कतिपटक फेरिँदै जाने हुन् ?

खलासी गर्न थालेको २ वर्ष भइसक्यो । यो २ वर्षमा मेरो उचाई बढेको छ । मात्र शरिरको । अरु सबै जिरो नै छ । त्यसैले होला मेरो मोटे ड्राइभरले मलाई ‘जिरे’ भन्न नछाडेको ।

प्यासेन्जर पनि ताल तालका हुन्छन् । कोहि भाडा दिन किच किच गर्छन् । कोही राम्रो सिट नपाएको भन्दै झोक्किन्छन् । गाडीमा भए अनुसारको सिटमा बसाउने हो नि ! उनीहरुका लागि अर्कै सिट त कहाँबाट ल्याउनु र ?

‘धनगढी, महेन्द्रनगर…. धनगढी, महेन्द्रनगर…. ।’ डडेल्धुरा बसपार्कमा मेरो कराउने पालो लाग्यो । म भन्दा पहिला अर्को कराउँदै थियो । माइक्रो बसमा खलासी गर्दाको पनि शान हुन्छ । जीप र साना गाडीका खलासीलाई जिस्क्याउन र होच्याउन पाइन्छ । कतिबेलै त जीपका ड्राइभर भन्दा पनि आफु ठुलो जस्तो लाग्छ । तर, यथार्थ त्यो हुँदैन ।

हामी खलासीको दुनिया नै अर्कै । आफ्नो काममा खुसी जस्ता हुन्छौं दुःखको संसार लुकाएर । कसैको वास्ता नगरेजस्तो । हनुत हाम्रो पनि कसलाई वास्ता हुन्छ र ? न गाडी साहुलाई न त ड्राइभरलाई नै । दिनको २०० सम्म टाँका मार्न पाइहालिन्छ । बस यति भएसी त पुगी हाल्यो । केटि लाग्नु भएन । नत्र त टाँका मारेको पैसा पनि खल्तीमा बस्दैन ।

घरमा मेरो खोज खबर गर्ने र मेरो बारेमा वास्ता गर्ने पनि त्यस्तो कोहि छैनन् । र, म पनि कसैको वास्ता गर्दिन् । खै किन हो, अचेल त्यो बुँडरवाली रम्भीको भने याद आइरन्छ । गाडी रोकेर भात खान पुग्दा मस्किदै ठुम्का लगाउन आइहाल्छे । उसले त मलाई ‘जगदिश’ भनेर बोलाउँछे । मेरा लागि उसले उच्चारण गर्ने ‘जगदिश’ सुन्नका लागि पनि धनगढी-डडेल्धुरा रोडको खलासी जरुरी छ । कतिबेलै लाग्छ काठमाडौंको नाइटमा गए राम्रो होला । तर, त्यो रोडमा रम्भी देख्न पाइने हैन ।

प्यासेन्जर पनि ताल तालका हुन्छन् । कोहि भाडा दिन किच किच गर्छन् । कोही राम्रो सिट नपाएको भन्दै झोक्किन्छन् । गाडीमा भए अनुसारको सिटमा बसाउने हो नि ! उनीहरुका लागि अर्कै सिट त कहाँबाट ल्याउनु र ?

आज रम्भीको भने याद धेरै आइरहेको छ । किन ? त्यो त मलाई थाहा छैन । यत्ति थाहा छ, याद आइरहेको छ । बाटुलो अनुहार, अनुहारको बीचमा सप्रेको अम्बाको दाना जस्तो नाक । कोरियन टर्चको बल्ब जस्ता आँखा । मैले खलासी गर्ने माइक्रोकोे हेडलाईट भन्दा पनि टल्किने उसका दाँत । मन्जनचाई कुन युज गर्छे मोरिले ? जे होस् सुन्दरी छे । सुन्दरी भन्दा पनि राम्री छे ।

मैले बिहे गरौं भन्ला गर्लि ? कतिबेलै यस्तो पनि मनमा खयाल आउँछ । खयाल त थुप्रै आउँछन् । गर्नु के खलासी जो परे । उसका घरकाले के गन्लान र मलाई । हुन त भगाएर पनि लैजान सकिने हो । फेरि राख्ने कता ? आफ्नो त जीन्दगी यहि माइक्रोको ढोकामा झुण्डिएर बित्ला । तर, रम्भी । उसलाई कता राख्नु ?

म जस्ता खलासीँले सपना सजाउने मात्रै हो । पुरा गर्न त हाम्रा पुर्पुरोमा लेखिएको हुँदैन् । जस्तो म सपना सजाईरहन्छु त्यो रम्भीको नाममा । मलाई अरुको वास्ता छैन । बस त्यहि रम्भी । कतिपटक रम्भीसँग मस्किनका लागि अरु गाडीका ड्राइभर र खलासी पनि टाँसिन खोज्छन् । तर रम्भी उनीहरुलाई बाल दिन्न । सायद रम्भी पनि मलाई मन पराछे । खै ? कसरी भन्नु र । होटलकी केटी, व्यापार चलाउन पनि मस्किन्छे होला नि ! उसका आमावाउ पनि उ सबैसँग मस्कियोस् भन्ने चाहान्छन् । रम्भीले मस्किँदा उनीहरुको व्यापारमा फाइदा जो हुन्छ । रम्भीको जवानी उसका आमावाउका लागि होटलको विज्ञापन भएको छ । ग्राहक लोभ्याउने माध्यम बनाएका छन् उसका आमाबाउले ।
कतिपटक गाडी यात्रा गर्ने केटि पनि माया गर्छु भन्छन् । उनीहरु भाडा नतिरी यात्रा गर्दा सम्म हाँस्छन् । गाडीबाट झरेपछि बाल दिदैनन् । यस्तै हो खलासीको जीन्दगी ।

‘ए जिरे…………..’ काउन्टरबाट आवाज आयो । काउन्टरबाट चलानी काटियो । मैले २५० रुपैयाँ दिए । मोटे गुरुले डाक्यो, ‘ए जिरे आईजा ।’ ड्याङ ड्याङ बसको ढोकामा बजाउँदै मैले भने, ‘जाउँ गुरु जाउँ…………….’ डडेल्धुराबाट गाडी छुट्यो धनगढीका लागि । सायद आज रम्भीसँग भेट होला । आतुर छु उसको अनुहार देख्न र उसले मेरा लागि उच्चारण गर्ने ‘जगदिश’ सुन्न ।