
–गणेश थापा
अमेरिका, २२ असार । संयुक्त राज्य अमेरिकाको दक्षिणी प्रान्त टेक्सासमा ३८ वर्षपछि आएको विनाशकारी बाढीमा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।
बाढीबाट हालसम्म कम्तीमा ५१ जनाको मृत्यु भएको र अन्य २७ जना मानिसहरू हराइरहेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि कतिपय सञ्चारगृहहरूले भने मृतक र बेपत्ता हुने मानिसको संख्या योभन्दा बढी रहेको तथ्यहरू पेस गरिरहेका छन् ।
शुक्रबार सवेरै स्थानीय केर काउन्टीस्थित ग्वाडालुप नदीमा आएको बाढीमा परी हराइरहेकाहरूको खोजी तथा उद्दारमा अधिकतम साधनस्रोतका साथ सुरक्षाकर्मी लगायत आपतकालीन व्यवस्थापन सेवाका उद्दारकर्ताहरू निरन्तर लागिरहेको टेक्सासका गभर्नर ग्रेग आवेटले बताएका छन् । साथै, प्रभावकारी उद्दार कार्यका लागि उनले त्यस क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा समेत गरेका छन् ।

रातिको समयमा भएको भारी वर्षापछि नदीमा अस्वाभाविक रूपमा पानीको सतह बढ्दा आसपासका मानव बस्ती र संरचनाहरूसहित ठूलो मात्रामा जनधनको क्षति भएको बताइएको छ । मृत्यु हुनेहरूमा १५ जना बालबालिका रहेका छन् । अझै पनि नदी किनारामा अवस्थित माइस्टिक समर क्रिस्चियन क्याम्पका दुई दर्जन बढी युवतीहरू बढीमा परी बेपत्ता भएको खबर अमेरिकी सञ्चारमाध्यमहरूले प्रशारण गरिरहेका छन् ।
भीषण बाढीमा परेको क्याम्पमा त्यसबेला ७ सय बढी मानिसहरू रहेको र धेरैलाई उद्दार गरिएको बताइएको छ । हेलिकप्टर, रबर तथा जेटबोट, मानवरहित यानसहित खोजी तथा उद्दार कार्यमा परिचालित सयौं रक्षकहरूले हजारौंको उद्धार गरेको रिपोर्टहरू आइरहेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढी पीडितहरूका लागि राहत र बेपत्ताको खोजी तथा उद्दार कार्यमा आवश्यक सबै खालको प्रयास गरिने बताएका छन् भने यो विपद्बाट पाठ सिक्दै राष्ट्रिय मौसम सेवा विभागको समेत स्तरोन्नत्ति गरिने ट्रम्प प्रशासनको भनाई छ ।









प्रतिक्रिया