
काठमाडौं, २० असार । काठमाडौं महानगरपालिका वडा नं ४ वडाव्यापी दौड सम्पन्न भएको छ । दौडको भेट्रानतर्फ पारिवारिक भ्रमणमा नेपाल आएका बेलायतवासी शिवजी श्रेष्ठ प्रथम भएका छन् ।
प्रत्येक वर्ष आयोजना गरिने दौडमा खुल्ला, विद्यालयस्तरीय र भेट्रान गरी ३ विधामा प्रतिस्पर्धा गरिएको थियो । ३ वटै विधा गरी करिब २०० जनाले भाग लिएको दौड विशाल मिलन केन्द्रबाट सुरु भई ढुंगेधारा, टुँडालदेवी मन्दिर, प्रधानमन्त्री निवास बालुवाटार, बालुवाटार चोक, विशालनगर चोक हुँदै फेरि विशाल मिलन केन्द्रमा नै आएर समाप्त भएको थियो ।

दौड प्रतियोगिताका प्रतियोगीहरुलाई सडकको दायाँबायाँ बसेका त्यहाँका स्थानीयहरुले ताली बजाएर हौसला दिएका थिए ।
दौडमा भाग लिने खेलाडी तथा उपस्थित व्यक्तिहरुलाई काठमाडौं महानगरपालिका वडा नं ४ का वडा सदस्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वडाध्यक्ष दिनेश महर्जनले शुभकामना तथा बधाई दिएका थिए ।
कार्यक्रमको ञ्चालन वडा कार्यालयका प्रशासकीय अधिकृतले गरेका थिए । सहभागीहरुको तर्फबाट मन्तव्य राख्दै बेलायतको साउथ ह्याम्प्टन म्याराथुन (४२ किलोमिटर)मा भाग लिइसकेका शिवजी श्रेष्ठले स्वास्थ्यको लागि खेलकुद अति महत्वपूर्ण भएको र स्थानीयस्तरमा यस्ता प्रतियोगिता गरिनु एकदम ठूलो उपलब्धि भएकोले वडाध्यक्षसहित सम्पूर्ण आयोजक टिमलाई बधाई दिएका थिए ।
आयोजकका तर्फबाट वडाध्यक्ष लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने वडास्तरमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
यस अवसरमा भेट्रानतर्फ प्रथम भएका श्रेष्ठले आफूले पुरस्कार बापत पाएको रकम छ हजार रुपैयाँ टुँडालदेवी सामुदायिक केन्द्रलाइ प्रदान गरे । यो सामुदायिक सेवा केन्द्र विसं २०५४ सालमा उनै श्रेष्ठ वडा प्रहरी कार्यालय, महाराजगञ्जको प्रमुख हुँदा स्थापना भएको हो । सोही कुराको स्मरण गर्दै श्रेष्ठले सेवा केन्द्रका प्रहरी हवल्दार डम्बर शाहीलाई रकम हस्तान्तरण गरेका थिए ।








प्रतिक्रिया