२९ आश्विन २०८३, बिहिबार

बजार अनुगमन तीव्र पार्दै चौदण्डीगढी नगरपालिका

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, १९ असार । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार तथा ग्रामिण क्षेत्र अनुगमनलाई तीव्र पारेको छ । पालिकाको बजार अनुगमन टोलीले पालिका भित्रका सबै खाले पसलमा अनुगमन गरेको हो । चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीको नेतृत्वमा नगरपालिका भित्रका बजार क्षेत्रहरुमा अनुगमनलाई तीव्रता दिएको हो ।

बजार अनुगमन टोलीले एक महिना यता नगरको मुख्य बजारहरु बेल्टार, हडिया, शिवाई, बसाहा, वीरेन्द्र बजार क्षेत्र र ग्रामिण भेगमा रहेका पसलहरुमा समेत अनुगमन गरेको छ । अनुगमन टोलीले पालिका भित्रका किराना पसल, औषधि पसल, होटल लगायत सबै व्यवसायमा छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पाइएका म्याद नाघेका झन्डै ४१ हजार बढीका समानहरु जफत गरी नष्ट गरिएको छ । पालिकाको बेल्टारमा बजारमा सञ्चालित सन एण्ड विष्णु मेडिकल हल एण्ड पोलिक्लिनिकलाई अनुमति बिनै सञ्चालन गरिएकोमा अनुगमन टोलीले सिल गरेको छ भने मेडिकललाई ५ हजार जरिवाना समेत गरिएको छ ।

अनुगमन टोलीले चौदण्डीगढी–३ स्थित गुप्ता किराना पसललाई २ हजार, सोही ठाउँको होटल युमालाई ५ हजार, चौदण्डीगढी ४ स्थित दर्ता बिना सञ्चालित रेनुका राई र सम्झना राईको पसललाई २ हजार र १५ सय जरिवाना गरिएको छ भने चौदण्डीगढी–५ को घिमिरे किराना पसललाई ५ हजार, चौदण्डीगढी–५ कै आरुष किराना पसललाई ३ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमन टोलीले चौदण्डीगढी–१० स्थित कोइराला किराना पसललाई २५ सय जरिवाना गरेको छ भने चौदण्डीगढी–६ बेल्टारका बेल्टार डेन्टल क्लिनिकलाई १० हजार र दिब्यान्स फार्मेसीलाई ५ हजार जरिवाना गरिएको छ भने चौदण्डीगढी–७ बेल्टार बजारमै सञ्चालित विवेक मेडिकललाई ३ हजार र ओम शुभम डेन्टल क्लिनिकलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमन टोलीले केही पसलहरूलाई चेतावनी दिएको छ । अनुगमन टोलीले कानुन सम्वत सबै खाले दर्ता रहेको/नरहेको, म्याद गुज्रिएको समान बेचबिखन गरे/नगरेको विशेष गरी चेकजाँच गर्ने गरेको चौदण्डीगढी नगरपालिका सामाजिक शाखा प्रमुख नवराज बाराले जानकारी दिए ।

स्थानीय व्यापारी व्यवसायीले भने पछिल्लो समय व्यापार पूर्णतः धरासायी बनेको बेला बजार अनुगमनको नाममा आफूहरुलाई जरिवाना गर्नु राम्रो नभएको बताएका छन् । उनीहरुले आफूहरुलाई, नगरपालिका, अन्तशुल्क, कर र घरेलुमा अनिवार्य पसल दर्ता गर्न भनेको भन्दै व्यवसाय नै धरासायी भइरहेको बेला कुन पैसाले पसल दर्ता गरेर राज्यलाई कर तिर्नु भन्दै प्रतिप्रश्न गरेका छन् । उनीहरुले बजार पूर्णतः सुचारु भए आफूहरु राज्यलाई कर बुझाउन तयार रहेको समेत बताएका छन् ।