२९ आश्विन २०८३, बिहिबार

तेह्र प्रतिशत बालबालिका पूर्ण खोप सेवाबाट वञ्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khop_ktmकाठमाडौँ । गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको नैसर्गिक अधिकारको प्रत्याभूति गराउन खोप व्यवस्थापनको स्तरीय कार्य सञ्चालन गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र स्वास्थ्य सेवा विभागको सहयोगमा लाइफ लाइनको आयोजनामा आजदेखि यहाँ सञ्चालन गरिएको प्रभावकारी भ्याक्सिन व्यवस्थापनको स्तरीय कार्यसञ्चालन विधिसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको शुभारम्भका अवसरमा अहिले पनि पुरानै विधि र तरिकाअनुसार खोप सञ्चालन हुने गरेकाले त्यसमा सुधार ल्याउन आधुनिक प्रविधि र दक्ष जनशक्तिको खाँचो रहेकामा वक्ताको जोड थियो ।

मुलुकमा उच्च शिशु मृत्युदर हुनाको मुख्य कारण समयमै खोप सेवा पाउन नसक्नुलाई विभिन्न अध्ययनले उल्लेख गरेको पाइन्छ । सतासी प्रतिशत बालबालिकाले पूर्ण खोप सुविधा पाएको, १० प्रतिशतले आंशिक र बाँकी तीन प्रतिशत बालबालिकाले एउटै पनि खोप पाउन नसकेको सरकारी तथ्याङ्क छ । हाल एक वर्षमुनिका बालबालिकालाई नौवटा खोप दिने गरिन्छ ।

तालिमको शुभारम्भ गर्दै स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाका प्रमुख कृष्ण पौडेलले गुणस्तरीय तथा प्रभावकारी खोप सेवा सञ्चालन गर्न भ्याक्सिन भण्डारणमा संलग्न कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका राष्ट्रिय संयोजक डा राजेन्द्र बोहराले सबै जिल्लामा एकै पटक गुणस्तरीय खोप सेवा पु¥याउन नसकिए पनि नमुनाका रुपमा एक जिल्लाबाट विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

लाइफ लाइनका अध्यक्ष जनार्दन नेपाल तथा कार्यकारी निर्देशक सुशील कार्कीले प्रभावकारी भ्याक्सिन व्यवस्थापन गर्न दक्ष जनशक्ति निर्माण गर्न यस किसिमको तालिम क्षेत्र र जिल्लामा पनि विस्तार गरिने जानकारी दिनुभयो ।

विभागको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भीमसिंह तिङ्कली, युनिसेफका सूर्य सुवेदी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक अच्युत लामिछानेलगायतले लामो समयसम्म स्तरीय कार्यसञ्चालन विधि नहुँदा स्तरीय भ्याक्सिन व्यवस्थापन गर्न कठिनाइ परेकामा अब यसमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

छ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न जिल्लाका खोप सेवा कार्यमा संलग्न करिब २५ जना सहभागी हुनुहुन्छ । रासस