भीमदत्तनगर, २ साउन । दार्चुलाको सुन्सेरा गाविसको तुसरपानीमा वन्यजन्तुका अङ्गसहित पक्राउ परेका चारजनालाई अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले सजाय सुनाएको छ ।
घटनामा संलग्न खगाल– ६ हुम्लाका २९ वर्षीय छवाङ तुन्दुक तामाङलाई १५ वर्ष कैद तथा रु एक लाख जरिवाना र पक्राउ परेका सुन्सेरा–२ सिनाका कुशलसिंह धामी, गगनसिंह धामी र थोले धामीलाई पाँच वर्ष कैद र फरार पाँचजनालाई राष्ट्रिय वन्यजन्तु तथा संरक्षण ऐनको दफा २६ को उपदफा १ अनुसार सजाय सुनाएको कार्यालयले जनाएको छ ।
त्यस्तै उक्त घटनाका फरार ईश्वर धामीलाई नौ वर्ष कैद तथा रु ७५ हजार जरिवाना र अन्य चार फरारलाई जनही चार वर्षको कैद तथा रु ५० हजार जरिवाना तोकेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो ।
तत्कालीन प्रहरी चौकी सुन्सेराका इन्चार्ज प्रहरी नायब निरीक्षक दमन चन्द नेतृत्वको प्रहरी टोलीले बाघको छाला एक, चितुवाको छाला पाँच थान, बाघको टाउको एक थान, बाघको हाड ४५ किलोग्राम, बाघको दात १० थान, हात्तीको दाँत दुई थान, कस्तुरीको बिना पाँच थान र सालकको कत्ला ३५ किलोग्राम बरामद गरेको थियो ।
बरामद गरेका वन्यजन्तुका अङ्ग तिंकर नाकाबाट तिब्बत लैजाँदै गर्दा प्रहरी टोली र १५ जना तस्करको समूहबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा तामाङ घाइते भएका थिए । बरामद गरेको उक्त परिमाणका वन्यजन्तुका अङ्गहरु करिब रु पाँच करोड मूल्यबराबरको रहेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले अनुमान गरेको थियो । रासस















प्रतिक्रिया