
काठमाडौं, ३० जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
सम्झौता अनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा भएको सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रालिका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समय सिमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ताप्लेजुङ्गको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सम्झौता अनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।
यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुनेछ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।








प्रतिक्रिया