काठमाडौं, २८ जेठ । अवैध सिकार गरी मारेको दुर्लभ वन्यजन्तु मृगसहित पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता तथा शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतलाई छुटाउन कांग्रेसका केन्द्रीय स्तरका नेताले दबाब दिएका छन्। घटनालगत्तै स्थानीयको घेरामा परेको उक्त समूह २५ हजार रुपैयाँ दिएर उम्कन खोजे पनि सफल भएको थिएन।
हाल प्रहरी नियन्त्रणमा रहेका बस्नेतलाई छुटाउन कांग्रेसका केन्द्रीय स्तरका नेताहरूले फोन गरी वन कर्मचारीलाई दबाब दिएको स्रोतको दाबी छ। वन कार्यालय स्रोतका अनुसार कांग्रेस नेताहरूले घटना सामसुम पार्न कर्मचारीलाई दबाब दिएका छन्। वन कार्यालय धादिङका प्रमुख राजेन्द्रसिंह भण्डारी बिदामा भएका कारण निमित्त कार्यालय प्रमुखको जिम्मेवारी समालेका कृष्णप्रसाद अधिकारी र अनुसन्धान अधिकृत तोकिएका विनोदकुमार रेग्मीलाई दबाब दिइएको छ। यो विषयमा अन्नपूर्णले जिज्ञासा रा दा दुवै कर्मचारीले केही बताउन चाहेनन्।
वन कार्यालयका कर्मचारीबीच मंगलबार दिनभर ‘पत्याउनै नसकिने व्यक्तिबाट फोन आएको’ सन्दर्भले चर्चा पाएको थियो। बस्नेत कांग्रेसमा देउवा पक्षधर मानिन्छन्। अघिल्लोपटक पक्राउ पर्दा खुलेर बस्नेतको बचाउमा उत्रिएका सभासद् रञ्जित कर्णले भने यसपटक उनको बचाउ नगर्ने प्रतिक्रिया दिइसकेका छन्।
गैरकानुनी क्रियाकलाप गर्नेलाई विद्यार्थी नेतामाथि कडा कारबाही हुनुपर्ने बताउँदै अध्यक्ष कर्णले आफ्नो संगठनले पनि बस्नेतविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएका थिए।
वन कार्यालयले पक्राउ परेका ६ जनाविरुद्ध थप अनुसन्धानका लागि मंगलबार १० दिन म्याद थप गरेको छ। म्याद थप गर्नुअघि विभिन्न व्यक्तिबाट घटनालाई धेरै ठूलो नबनाइदिन र तत्काल छुट्ने वातावरण बनाइदिन दबाबमूलक फोन आएको वन कार्यालयका अधिकारीले बताएका छन्। कोकोबाट फोन आएको हो भन्ने बारेमा भने उनीहरूले केही उल्लेख गर्न चाहेनन्। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया