काठमाडौं, १ साउन । आइसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको आफ्नो पाँचौ खेलमा नेपाल आज पपुवा न्युगिनीको सामना गर्दैछ ।
आयरल्यान्डमा जारी उक्त प्रतियोगितामा नेपाली टोलीले नेपाली समयअनुसार आज दिउँसो २ः४५ बजे डब्लिनमा पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
प्रतियोगिताबारे पारस आफ्नो प्रतिक्रिया सुनाएका छन् । नितरन्तर असफलताले निराश नेपाली दर्शक तथा फ्यानलाई उनले केही आश जगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पारसले आजको खेल ‘वेष्ट’ खेल्ने बताएका हुन् ।
यस्तो छ निराश नेपाली फ्यानका लागि पारसको सन्देशः
हामी अझै पनि अन्तिम चारमा आँखा लगाइरहेका छौं । हामी बाँकी रहेका दुई खेल जित्छौं भन्नेमा आशावादी छौं । हाम्रा लागि प्रतियोगिता अझै सकिएको छैन । अरु राष्ट्रहरुले खेल्ने खेल पनि बाँकी नै छन् । प्रतिस्पर्धा, रनरेटका कुरा अझै बाँकी नै छन् । त्यसैले हामी अझै पनि ‘बेस्ट’ क्रिकेट खेल्ने प्रयास गर्नेछौं । हामीले अझै पनि हाम्रो क्षमताअनुसार खेल्न सकेका छैनौं । त्यसैले हाम्रा आगामी दुई खेलमा हामी हाम्रो ‘बेस्ट’ क्रिकेट खेल्नेछौं भन्ने आशा छ ।
हामी विश्वकप छनौट प्रतियोगिता खेल्न आएका छौं । यसको मतलब हरेक खेलमा दबाब हुन्छ । हरेक रन, हरेक विकेट हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छ । हामीले मैदानमा हुँदा हाम्रो ‘बेसिक’ अनुसार खेल्नुपर्छ । हाम्रो क्षमता अनुसार खेल्नुपर्छ तर त्यसो भइरहेको छैन । हामीसँग हामी विश्वकपका लागि योग्य छौं भनेर प्रमाणित गर्न अझै दुई खेल बाँकी नै छन् । आशा गरौं, हामी यी दुई खेलमा उत्कृष्ट देखिनेछौं । विशेषगरी आजको खेलमा हामी उत्कृष्ठ प्रदर्शन गर्नेछौं ।
हामीले हरेक चुनौतीलाई मौकाका रुपमा लिनुपर्छ । हरेक मौकालाई विकेटमा परिणत गर्नुपर्छ । क्रिकेट भनेको बलिङ वा ब्याटिङमात्र पनि हैन । फिल्डिङ, बलिङ, ब्याटिङ सबै ठीक हुनु जरुरी छ । र सबैलाई थाहा छ, हाम्रो फिल्डिङ राम्रो छ । हामीले फिल्डिङमा राम्रो पनि गरेका छौं । यतिबेला हामीले मैदानमा छिरेपछि दबाबको समयमा सही निर्णय गर्नु जरुरी छ । क्रिकेट टीमको रुपमा हामीले आफूलाई मजबुत बनाउन जरुरी छ । किनकी हामीलाई थाहा छ, खेलमा उतार चढाव भइरहन्छ । हामीले गर्नसक्ने भनेको आफूलाई बलियो बनाएर अर्कोका लागि तयार रहनु नै हो । आशा छ, हामी बलियो भनेर आउनेछौं र आफ्नो टीमका लागि क्षमताले भ्याएसम्मको प्रदर्शन गर्नेछौं ।
(हङकङसँग पराजित भएपछि कप्तान पारस खड्काले क्रिक इन्फोसँग गरेको कुराकानी ।)















प्रतिक्रिया