२९ आश्विन २०८३, बिहिबार

भारतमा रिमोट, नेपालमा गिरोह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadiकाठमाडौं, २८ जेठ । भारतको झारखन्डमा बसेर दुई वर्षदेखि नेपालमा शृंखलाबद्ध अपहरण गराउँदै आएका कुख्यात भारतीय अपराधी दिनेश सिंह दुईजना सहयोगीसहित पक्राउ परेका छन्। भक्तपुरबाट १४ दिनअघि अपहरणमा परेका अढाई वर्षे बालकको खोजी क्रममा उनलाई सोमबार समातिएको हो।

सोमबार दिउँसो सिंहलाई पक्राउ गरी राति ११ बजे भारत, बिहारको टीकागन्ज थानाअन्तर्गत रुपहारा गाउँमा लुकाइएका बालक अपहरणमुक्त गरिएको जिल्ला प्रहरी कार्यालय बाराप्रमुख ईश्वरबाबु कार्कीले बताए।

प्रहरीका अनुसार सिंहले यसअघि बारा, पर्सा र रौतहटबाट छजनाको अपहरण गरी भारत पुर्‍याएर फिरौती असुलिसकेका छन्। यसपालि १ करोड ५० लाख असुल्ने ध्याउन्नमा थिए।

सोमबार पक्राउ परेकामा सिंहसहित उनका सहयोगी मनोजकुमार बैठा र आलमदेव ठाकुर छन्। उनीहरूलाई सोमबार राति नै नेपाल ल्याइएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनले भारतमै बसेर नेपालमा संगठित अपहरण गिरोह चलाउने गरेको प्रहरीले जनाएको छ।

भारत मोतिहारी भेलवा बजारका सिंह भारतमै कहलिएका अपहरणकारी हुन्। भारतीय प्रहरीका अनुसार आठ वर्षअघि सिंहसहित पाँचजना अपहरण र हतियारको अवैध कारोबार अभियोगमा पक्राउ परेका थिए। सोही अभियोगमा जेल पनि परे।

पछि मोतिहारी अदालतको आदेशमा धरौटीमा रिहा भए। त्यसलगत्तै बिहार छाडेका सिंह झारखण्ड बसेर नेपालकेन्द्रित अपराधमा सक्रिय भएको भारत, घोडासहनका थाना प्रभारी (प्रमुख) ललितकुमारले बताएका छन्।

सिंह २०६९ देखि नेपालकेन्द्रित अपहरणमा सक्रिय थिए। उनले भारतसँग सीमा जोडिएका बारा, पर्सा, रौतहटलगायत जिल्लामा अपहरण सञ्जाल फैलाएको प्रहरीको निष्कर्ष छ। नागरिक दैनिकबाट