
काठमाडौं, १० जेठ । आईएमई समूहअन्तर्गतको अशोक एलटी इन्जिनियरिङ्ग सर्भिसेज लिमिटेडद्वारा आयोजित ‘सर्भिस सम्राट २०२५’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । फिनालेमा नारायणबहादुर पौडेलले ‘सर्भिस सम्राट २०२५’ को उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए ।
काठमाडौंमा सम्पन्न फिनालेमा देशभरिका विभिन्न शाखाबाट ९० जना टेक्निसियन र इलेक्ट्रिसियनहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा इलेक्ट्रिसियन च्याम्पियनको उपाधि ओमप्रकाश प्रसाद पटेलले प्राप्त गर्दै २० हजार रुपैयाँ नगद जिते ।
त्यसैगरी, टेक्निसियन फर्स्ट रनरअपको उपाधि रुपास लिम्बुले प्राप्त गर्दै १५ हजार रुपैयाँ र टेक्निसियन सेकेण्ड रनरअप सुवास केसीले जित्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता लिखित, मौखिक, र प्रायोगिक गरी तीन चरणमा सञ्चालन गरिएको थियो । जसमा सहभागीहरूको ज्ञान र प्राविधिक सीपको परीक्षण गरिएको थियो । अन्तिम चरणमा १० जना प्रतिस्पर्धीमध्ये ७ जना टेक्निसियन र ३ जना इलेक्ट्रिसियन ग्रान्ड फिनालेमा पुगेका थिए ।
पुरस्कार वितरण गर्दै आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्ता प्रतियोगिताले प्राविधिकहरूलाई नयाँ सीप सिक्न प्रेरणा दिने र बिक्रीपछिको सेवा गुणस्तरीय बनाउन मद्दत गर्ने बताए । साथै, सीप विकासमा लगानी गर्ने र निरन्तर सिकाइको संस्कार निर्माण गर्न समूह प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे ।
अशोक लेलैण्डका कन्ट्री हेड विप्लव पॉलले ‘सर्भिस सम्राट’ प्रतियोगितामा सहभागी प्राविधिकहरूले अन्तर्राष्ट्रिय स्तरको सीप प्रस्तुत गरेको उल्लेख गर्दै प्राविधिक क्षमता विकासमा उनीहरूको लगाव प्रशंसायोग्य रहेको बताए ।
कार्यक्रममा अशोक लेलैण्डका कन्ट्री हेड विप्लव पॉल, अशोक एलटी इन्जिनियरिङ्ग सर्भिसेजका कार्यकारी निर्देशक निशान ढकाल, र अशोक लेलैण्डका सेवा प्रमुख अनुपा स्वाईनको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया