२९ आश्विन २०८३, बिहिबार

भण्डारण क्षमता थप्दै आयल निगम, नेपालका कुन-कुन सहरमा खोल्दैछ डिपो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-negamकाठमाडौँ, ३१ असार । नेपाल आयल निगमले आगामी आर्थिक वर्षमा आफ्नो भण्डारण क्षमता विस्तार गर्ने भएको छ ।

निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलका हवाई इन्धन भण्डारणका लागि मुलुकका विभिन्न स्थानमा डिजेलको भण्डारणका लागि पूर्वाधार निर्माण गर्ने योजना बनाएको हो । निगमसँग हाल ७१ हजार किलोलिटर पेट्रोलियम पदार्थको भण्डारण क्षमता रहेको छ ।

आयल नियमले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले झापाको चारआलीमा भण्डारण सुविधासहितको इन्धन डिपोको निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले रामेछापको मन्थली हवाई इन्धन भण्डारणका लागि आवश्यक पूर्वाधार तयार गर्ने, बाराको सिमरा विमानस्थलमा आधुनिक डिपो एवम् भण्डारण सुविधा राख्ने र जनकपुरमा हवाई इन्धन डिपो राख्ने तयारी गरेको बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको सिनामङ्गलको भण्डारण सुविधामा करिब चार हजार केलोलिटर क्षमता बढाउने तथा हालको पूर्वाधारलाई थप आधुनिकीकरण गर्ने कार्यकारी निर्देशक खड्काले उल्लेख गर्नुभयो । उहाँका अनुसार भैरहवास्थित निगमको पेट्रोल पम्पलाई आधुनिकीकरण एवम् थप क्षमता विस्तार गरी नयाँ निर्माण गर्ने, गौतम बुद्ध क्षेत्रीय विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने तयारी भइरहेकाले तीन हजार ५०० किलोलिटर भण्डारण क्षमताको हवाई इन्धन केन्द्र बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी पोखरा इन्धन डिपोको क्षमता विस्तार गर्ने, सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन केन्द्र निर्माण, दाङमा इन्धन डिपो एवम् त्यसका लागि जग्गा प्राप्ति र धनगढी डिपोलाई सहरबाट स्थानान्तरण गरिने भएको छ । निगमले ५५ वटा ‘एलपी ग्यास बोटलिङ प्लान्ट’बाट छ हजार मेट्रिक टन भण्डारण क्षमता भएको र यसले पाँच दिनको मात्र खपत धान्ने भएकाले यसको विस्तार गरी ३५ हजार मेट्रिक टनको भण्डारण क्षमता विस्तार गर्ने तयारी गरेको छ । निगमले रक्सोलदेखि अमलेखगञ्जसम्म पाइप लाइन निर्माणलाई नेपाल र भारत सरकारबीचको सम्झौता भएपछि कार्यान्वयनलाई अगाडि बढाउने तयारी गरेको छ ।

त्यसैगरी कार्यकारी निर्देशक खड्काले ग्यासको बिक्रीलाई पनि स्वचालित मूल्यमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले निगमले विभिन्न निकायबाट लिएको रु आठ अर्बमात्र ऋण भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुभयो । रासस