२९ आश्विन २०८३, बिहिबार

आशामै बित्यो जिन्दगी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jestha Nagarikकाठमाडौं, २८ जेठ । जेष्ठ नागरिकलाई स्वास्थ्य र यातायातमा विशेष सुविधा दिनु पर्ने माग राखी थालिएको आन्दोलनमा ६२ बर्षे तेजकुमारी श्रीमानका साथ सधैजसो सहभागी हुन्थिन् ।

कोटेश्वर मनोहरामा बस्ने उनमा सरकारले आफ्ना मागहरु सम्बोधन गर्ला र आफूजस्ता जेष्ठ नागरिकको बुढेसकाल केही भए पनि सहज होला भन्ने आशा थियो । तर, ६२ बर्षे तेजकुमारी दाहालको त्यो इच्छा अधुरै रह्यो । आन्दोलन नसकिदै सोमबार उनी यस धर्तीबाटै बिदा भइन् ।

साठी वर्ष पुगेका जेष्ठ नागरिकलाई स्वास्थ्य उपचार र यातायात भाडामा आधा छुटको माग गर्दै बृद्धबृद्धाले थालेको आन्दोलन झण्डै डेढ बर्ष पुग्दा पनि सरकारले सम्बोधन गरेको छैन । समस्या सुनुवाई हुने आशामा दिनरात आन्दोलनमा धाउनेहरु एकपछि अर्को गर्दै उल्टै धर्तिबाटै बिदा हुन थालेका छन् ।

अहिलेसम्म आन्दोलनमा लागेका ६ जनाले ज्यान गुमाई सकेका छन् । तेजकुमारी र उनका श्रीमान गत शुक्रबारसम्म आन्दोलनमा सहभागी भएको सहभागीहरुले बताए । निमोनियाले थलिएकी उनलाई उच्च रक्तचापको पनि समस्या थियो ।

आन्दोलनमा निरन्तर सहभागी हुदै आएका सामाखुसीका ८६ वर्षे नरबहादुर खाँडको पनि इच्छा पुरा हुन पाएन । शरीरमा तागत हुन्जेल आन्दोलनमा लाग्ने र माग पुरा गराएरै छाड्ने अठोट उनले लिएका थिए ।

उनी आन्दोलनकै लागि सामाखुसीबाट बानेश्वर आइपुग्थे । कोटेश्वरका ८२ वर्षे रामु पोखरेल, जडीबुटीका ८७ वर्षे प्रेमहरी अमात्य, धापासीका बासु शर्मा लम्साल र मनोहराका ८० वर्षे लालबहादुर खत्रीले पनि आन्दोलनमा लाग्दालाग्दै ज्यान गुमाएका छन् । कान्तिपुर दैनिकबाट