
काठमाडौं, २९ वैशाख । नेकपा (एमाले)का स्व. नेता पशुपति चौलागाईंको चौथो स्मृति दिवस आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरी मनाइएको छ । एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भएको कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले चौलागाईंको अप्रत्याशित निधनलाई अझै स्वीकार गर्न नसकिएको बताए । ‘उहाँको अप्रत्याशित निधनलाई हामीले सहज ढंगले डाइजेस्ट गर्न सकिरहेका छैनौँ । हो कि होइन जस्तो लागिरहेको छ ।’ ज्ञवालीले भावुक हुँदै भने ।

ज्ञवालीले स्व. चौलागाईंलाई पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने असल कम्युनिष्ट नेताका रूपमा स्मरण गरे । उनले चौलागाईंको व्यक्तिगत आचरण र विचार राम्रो रहेको र कार्यकर्ताका कुरा सुन्ने, आफ्नो कुरा प्रष्ट राख्ने, सार्वजनिक सम्बन्ध राम्रो राख्ने नेताका रूपमा चिनिने बताए ।
ज्ञवालीले चौलागाईंबाट सिक्नुपर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने मुख्य सन्देशहरू उल्लेख गरे । पहिलो, राजनीतिलाई जनताको जीवनसँग जोड्नुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले भने, ‘अब हाम्रो राजनीति केवल कोरा राजनीति होइन, जनताको जीवनसँग, समृद्धिसँग र विकाससँग जोडिएको हुनुपर्छ ।’ दोस्रो, राजनीतिमा निरन्तरता, निष्ठा र इमानदारिता हुनुपर्ने बताउँदै ज्ञवालीले अहिलेको राजनीतिक विकृतिहरूप्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘तर, अर्को प्रवृत्ति कस्तो देखियो भने एकपटक अवसर पायो र दोस्रोपटक अवसर पाएन भने असहयोगी बन्दिने, दोस्रोचोटी पायो तेस्रो चोटी पाएन भने घात गर्न थाल्ने, तेस्रो चोटी पायो चौथो चोटी पाएन भने पार्टी विभाजनमा जाने, अहिले विभाजनमा देखिएका पात्रहरूको यसो अनुहार हेर्नुहोस् त कतिचोटी प्रधानमन्त्री भएका, मन्त्री भएका, सांसद भएका, मेयर भएका पटक–पटक अवसर पाएका साथीहरू हुनुहुन्छ । जति धेरै अवसर पायो त्यत्ति धेरै गुनासो, जति धेरै अवसर पायो त्यतिधेरै घात, मैलेबाहेक अरु कसैले पाउन हुँदैन, मैले अरुलाई ठाउँ दिनुहुन्न भन्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा नचाहादोगरी भित्रिन थालेको छ । यो कुराहरूलाई परास्त गर्नका लागि हामीले पशुपति चौलागाईंलाई सम्झिनुपर्छ ।’
ज्ञवालीले चौलागाईंलाई कार्यकर्ताका कुरा सुन्ने, आफ्नो कुरा प्रष्ट राख्ने र जनसम्पर्कमा कुशल नेताका रूपमा सम्झिएको बताए ।
‘उहाँको जीवनमा पनि अनेकौ खालका उतारचढावहरू आएका थिए होलान् । व्यक्तिगतरूपमा हेर्दा मैले यो पाएँ वा पाइँनभन्दा पनि पार्टीले दिएको जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्ने एउटा असल कम्युनिष्ट नेताकारूमा हामीले उहाँलाई सम्झिनुपर्छ । उहाँको व्यक्तिगत आचरण र विचार पनि राम्रो थियो । कुनैबेला टुप्लुक्क अहो ! प्रदीप कमरेड भनेर मुसुक्क हाँसेर आउनुहुन्छ कि जस्तो लाग्छ ।’ ज्ञवालीले भने ।
एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्यद्वय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा २०८२ सालको भित्तेपात्रो पनि विमोचन गरिएको थियो ।









प्रतिक्रिया