१७ असार २०८३, बुधबार

युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरानी परराष्ट्रमन्त्री

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले ‘युरेनियम प्रशोधन इरानको अधिकार हो र यसबारे कुनै सम्झौता हुन नसक्ने’ बताएका छन् ।

अमेरिकाले प्रशोधन रोक्न आग्रह गरेपछि उहाँले यो प्रतिक्रिया दिएका छन् । उनले भने,“ इरान शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम प्रशोधन गर्दै आएको छ र यदि कसैलाई चिन्ता छ भने विश्वास निर्माणका उपायहरूमा छलफल गर्न सकिन्छ, तर प्रशोधन रोक्ने माग स्वीकार्य छैन ।”

यो भनाइ अमेरिकाका विशेष दूत स्टीव विटकोफले इरानलाई युरेनियम प्रशोधन पूर्ण रूपमा बन्द गर्न आग्रह गरेपछि आएको हो । विटकोफले यसअघि मात्र सन् २०१५ को आणविक सम्झौताअनुसार फर्कनुपर्ने बताएका थिए, तर अहिले उनले प्रशोधन नै अन्त्य गर्नुपर्ने नयाँ शर्त राखे ।

इरान र अमेरिकाबीच गत साता ओमानमा उच्चस्तरीय वार्ता भएको थियो, जुन दुबै पक्षले ‘सकारात्मक’ भनेका थिए । त्यसको दोस्रो चरणको वार्ता आउँदो शनिबार फेरि मस्कटमा हुने तय भएको छ । अराघचीले अमेरिकाबाट विरोधाभासी सन्देशहरू आइरहेका कारण स्पष्ट धारणा बुझ्न वार्ताकै पर्खाइ गरिएको बताए ।

वार्ताको तयारीस्वरूप अराघची बिहीबार रुस जाँदै छन् । तेहरानस्थित रुसी दूतावासका अनुसार यो भ्रमण पहिलेदेखि तय भए पनि अमेरिकासँगको वार्ता सम्बन्धी छलफल हुने छ । भ्रमणको क्रममा उहाँले सर्वोच्च नेता आयातुल्लाह खामेनेईको सन्देश रुसी राष्ट्रपति पुटिनलाई बुझाउने बताएका छन् ।

इरानले वार्ताका क्रममा आफ्ना ‘रेडलाइन’ स्पष्ट पारिसकेको छ । त्यसमा युरेनियम प्रशोधन, सैन्य क्षमता, क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय भूमिका समावेश छन् । इरानी क्रान्तिकारी सुरक्षाबलले देशको रक्षात्मक शक्ति वार्ताको विषय बन्न नसक्ने बताएको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएइए) का प्रमुख राफाएल ग्रोसी बुधबार इरान पुग्ने कार्यक्रम छ । एजेन्सीले इरानको आणविक गतिविधिमा निगरानी गर्दै आएको छ । पछिल्लो रिपोर्टअनुसार इरानसँग ६० प्रतिशतसम्म प्रशोधित २७४.८ किलोग्राम युरेनियम रहेको छ, जुन सन् २०१५ को सीमा भन्दा धेरै भए पनि आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत स्तरभन्दा कम हो ।