५ श्रावण २०८३, मंगलबार

प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेको छ ।

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘बैठकमा केही पार्टीको आन्तरिक जीवनसँग जोडिएका र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेका छौँ । आगामी बैसाख ९ गते पार्टी स्थापनाको ७६ वर्षगाँठ सम्पन्न भएर ७७औँ वर्षगाँठलाई भव्य रुपमा मनाउने तयारी गरेका छौँ । त्यसमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उर्जा, शक्ति, सामर्थ्य र नयाँ दिशाका साथ अगाडि बढाउने हामीले संकल्प गर्ने छौँ । विगत वर्षमा जस्तै हामीले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने केही विशिष्ट व्यक्तित्वहरुलाई कम्युनिष्ट योद्धाको हिसावले सम्मान गर्ने निर्णय बैठकमा गरेका छौँ । त्यसअन्तर्गत लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्नशर्मा न्यौपाने (जाजरकोट), शोभाराम बस्नेत (दाङ), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), शत्यनारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा)लाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको जानकारी गराउन चाहन्छु ।’

साथै, माओवादी अध्यक्ष प्रचण्डले आइतबार चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गरेको छ ।

उपमहासचिव ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको एक खालको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ । राष्ट्रिय राजनीतिको अरु यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोह बाहेक अरु केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौँ ।’

अझै ‘बेटर पर्फर्मेन्स’का लागि सरकारलाई भनिरहेको भन्दै उनले थपे, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्काथरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन् ती गलत हुन् । सफल हुँदैनन् ।’