२९ आश्विन २०८३, बिहिबार

‘हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr. Ghanashyam Parishramee

नेपाली भाषी र नेपाली जातिका गौरव, आदिकवि भानुभक्त आचार्यले आफ्नो छोटो परिचय शार्दूल विक्रीडित छन्दमा पद्यात्मक रूपमा यसरी दिएका छन :

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया ।
खुब् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिह्नी लिया ।

सन्दर्भ २०२औ जन्मजयन्ती : भानुभक्त आचार्यको स्मृतिमा

जुनसुकै भाषाको साहित्यिक संसारमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरू आफ्ना कालजयी कृतिका माध्यमबाट कीर्तिशाली भई युगौं युग बाँचिरहेका हुन्छन् । ग्रिसेली साहित्यमा होमरको, ल्याटिन साहित्यमा भर्जिलको, संस्कृत साहित्यमा वाल्मीकिको, हिन्दी साहित्यमा तुलसीदासको, अंग्रेजी साहित्यमा शेक्सपियरको जुन प्रकारको अत्युच्च स्थान छ सोही अनुरूपको स्थान नेपाली साहित्यमा भानुभक्त आचार्यको पनि छ । आजभन्दा दुई सय वर्ष पूर्व नेपालको तनहुँको चुँदी रम्घामा श्रीकृष्ण आचार्यका नाति, पिता धनञ्जय आचार्यका र माता धर्मावती देवीका एक मात्र सुपुत्रका रूपमा सुसंस्कृत र पठित ब्राह्मण परिवारमा जन्मेका भानुभक्त आचार्यको व्यक्तित्वको निर्माणमा उनमा अन्तर्निहित कवित्व प्रतिभाको भूमिका महत्वपूर्ण रहेको देखिन्छ । भानुभक्त आचार्यलाई नेपाली काव्यिक भूमिमा मूलतः आदिकवि भनेर चिनिन्छ । भानुभक्त आचार्यको जीवनी लेखेर तथा उनको रामायणको प्रकाशन गरिदिएर मोतीराम भट्टले उनलाई साहित्यिक संसारमा ल्याएका हुन् र परिचित मात्र होइन, अपितु प्रतिष्ठित समेत तुल्याएका हुन् । वास्तवमा मोतीराम भट्टको खोज र अनुसन्धानबाट नै भानुभक्त नेपाली साहित्यिक व्योममा भानु भएर आएका हुन् । उनलाई आदिकविको उपाधिले सर्वप्रथम विभूषित गर्ने काम पनि मोतीराम भट्टबाट नै भएको हो । पछि प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरबाट ‘भानुभक्तलाई आदिकवि भने हुन्छ’ भन्ने हुकुम प्रमाड्डी समेत भएको इतिहासले बताउँछ ।

आफ्ना मित्र तारापतिका घरमा एक रात वास बस्दा सासू बुहारीको झगडा सुनेकै भरमा एक बसाईंमा भानुभक्तले बधूशिक्षा लेखेका थिए । तुलसीदासले ‘ढोल गवार शूद्र पशु नारी, ये सब ताडनके आधिकारी’ भनेर लेखेझै भानुभक्त आचार्यले पनि ‘हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन्’ जस्ता पंक्तिहरू लेखे । यतिमात्र होइन, शंकराचार्यको प्रश्नोत्तरी अनुवाद गर्दा ‘कुन् हो नरक् ? नारी भनेर जान्नू’ पनि लेखे ।

भानुभक्त आचार्य आफ्ना बाजेसँग बनारस (काशी) गएको प्रसड्ड आउँछ । त्यहाँ उनले संस्कृतको अध्ययन गरेका थिए । कविता संस्कृतमा नै लेख्नुपर्छ भन्ने तत्कालीन मान्यता थियो । तर संस्कृत पढेका भए पनि भानुभक्तले नेपालीमा संस्कृतको अध्यात्म रामायणको भावानुभाव गरे, आद्य शंकराचार्यको ‘प्रश्नोत्तरी’को यथावत् सोही छन्दमा नेपालीमा अनुवाद गरे । रामगीतालाई नेपाली भाषामा नै रूपान्तरण गरे । यी बाहेक भक्तमाला, बधूशिक्षा, कान्तिपुरी नगरी जस्ता कृति वा फुटकर रचनाहरूमा उनको सजह प्रतिभाको कवित्व नेपाली भाषामा नै मुखरित भएको पाइन्छ । यसबाट के स्पष्ट हुन्छ भने भानुभक्त आचार्य आफ्नो मातृभाषाका परम भक्त थिए । साथै काव्यिक आस्वादन आफ्नै मातृ भाषाबाट बढी प्राप्त गर्न सकिन्छ भन्ने पनि बुझेका थिए । भानुभक्तको काव्यिक विशेषताका रूपमा रामभक्ति, देशभक्ति, भाषाभक्ति प्रकृति प्रेम व्यङ्ग्य आदि रहेका छन् । अर्को एउटा पक्ष के हो भने उनी साँच्चिकै आशुकवि थिए । देखेको, भोगेको र लागेको कुरालाई तुरुन्त कवितामा उतार्न सक्ने मात्र होइन कवितामा नै संवाद र पत्राचार गर्न सक्ने क्षमता उनमा विद्यमान थियो ।

भानुभक्त आचार्यको आदिकवित्वबारे समान्यतः विवादास्पद प्रसङ्गहरू पनि उठेका वा उठाइएका छन् । आदिकविको कोशीय अर्थ हुन्छ– सबैभन्दा अगाडिको कवि । संस्कृतमा वाल्मीकि, ग्रीकमा होमर, अंग्रेजीमा चौसर, हिन्दीमा तुलसीदास प्रभृतिलाई आदिकविको सम्मान प्रदान गरिएझैं नेपालीमा भानुभक्तलाई यस्तो सम्मान प्रदान गरिएको छ । मोतीराम भट्ट स्वयम्ले भानुभक्त आचार्यको जीवन चरित्र (१९४८) मा उनीभन्दा अगाडि पनि नेपाली भाषामा लेख्ने केही कविहरू भएको कुरा उल्लेख गरेका छन् । तर पनि आदि कवित्वको सम्मानले भानुभक्तलाई नै विभूषित गरेका छन् । भानुभक्त आचार्यभन्दा पूर्वका कविहरू सुवानन्द दास, इन्दिरस, विद्यारण्यकेशरी, वसन्त, वीरशाली पन्त आदि देखिए पनि ती कविहरूका रचना नेपाली भाषीहरूबीच खासै लोकप्रिय हुन सकेनन् । यी कविहरूले कालजयी गहन कृतिहरूको रचना पनि गर्न सकेनन् । भानुभक्त आचार्यका भने फुटकर रचनाहरूमा समेत सम्प्रेषणीयता रहेको र रामायण जस्तो कृति अनूदित नै भए पनि नेपालीपन बढी भएकाले लोकप्रिय हुन पुगेको यथार्थ हाम्रो सामु छ । आदिकविका रूपमा उभ्याइएको स्रष्टालाई विश्व सामु प्रस्तुत गर्नुपर्दा उसमा केही न केही सबल पक्ष हुनु जरुरी छ । होमर, बाल्मीकि, तुलसीदासहरूले गरेको योगदान विश्व साहित्यमा नै विशिष्ट किसिमको देखिन्छ । नेपाली साहित्यका सन्दर्भमा भन्नुपर्दा भानुभक्त भन्दा अगाडिका कविहरूको खास विशिष्ट लेखन र योगदान देखिदैन । भानुभक्त आचार्य भने आफ्नो युगका विशिष्ट योगदान गर्ने साँच्चिकै कवित्व गुण वा प्रतिभा भएका कवि देखिन्छन् । अतः नेपालीका आदिकवि भनेर भानुभक्तलाई उभ्याउन पाउदा गर्वकै अनुभूति हुन्छ । त्यसैले पनि मोतीरामले उनलाई आदिकवि भनेका हुन् । अब नेपाली काव्यिक धरातलमा आभुभक्त आचार्यको ‘आदिकवि’ उपाधि रुढ भइसकेको छ । यसबारे विवाद गर्नुको कुनै औचित्य छैन ।

आदिकवि भानुभक्तका सबै रचनाको आफ्नै प्रकारको विशेषता छ । बधूशिक्षा भने अधुनातन परिवेशमा आलोच्य कृतिका रूपमा रहेको छ । उनले ‘बधूशिक्षा’ लेखेको युग र परिवेशलाई बुझ्नु आवश्यक छ । साहित्यको पठन र मूल्याङ्कन गर्दा त्यसको रचना काल वा युग र सन्दर्भ वा ‘रचना गर्भ’लाई पनि बुझ्नु पर्दछ । आजको नारीवादी चिन्तन र आन्दोलन उत्कर्षमा पुगेको परिवेशका आधारमा भानुभक्तको ‘बधूशिक्षा’को अध्ययन गरी उनलाई नारी हक अधिकार विरोधी स्रष्टाको रूपमा आलोचना गर्नु उपयुक्त हुँदैन । आफ्नो युगको मान्यतालाई आत्मसात् गरेर नारी चरित्रको शिष्टता र अनुशासनको सन्देश दिने उद्देश्यले आफ्ना मित्र तारापतिका घरमा एक रात वास बस्दा सासू बुहारीको झगडा सुनेकै भरमा एक बसाईंमा भानुभक्तले बधूशिक्षा लेखेका थिए । तुलसीदासले ‘ढोल गवार शूद्र पशु नारी, ये सब ताडनके आधिकारी’ भनेर लेखेझै भानुभक्त आचार्यले पनि ‘हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन्’ जस्ता पंक्तिहरू लेखे । यतिमात्र होइन, शंकराचार्यको प्रश्नोत्तरी अनुवाद गर्दा ‘कुन् हो नरक् ? नारी भनेर जान्नू’ पनि लेखे । यिनै कुरालाई आधार बनाएर भानुभक्त आचार्यलाई आलोचनाको आबुक प्रहार गर्नुभन्दा पनि उनले प्राथमिक कालमा नेपाली काव्यको सृजन, विकास र विस्तारमा पु¥याएको योगदानको मूल्याङ्कन गर्नु बढी उपयुक्त हुन्छ । वस्तुतः भानुभक्तले आफ्नो युगमा तत्कालीन पर्वती वा खस भाषामा साहित्य सिर्जना गरेर नेपाली भाषा साहित्यको बलियो जग बसालेको हुनाले नै आजको नेपाली साहित्यको भव्य महल खडा भएको हो । भानुभक्तले नै नेपाली भाषी र जातिलाई साहित्यिक भाषाका माध्यमबाट एकीकरण गर्ने महत्वपूर्ण काम पनि गरेका हुन् । अतः नेपाली भाषा र साहित्यको इतिहास र परम्परासँग भानुभक्त आचार्य युगयुगौं जीवन्त रहने छन्, नेपाली भूमिमा मात्र होइन, विश्वव्यापी रूपमा नेपाली भाषिक भूमिमा समेत पूजित भइरहने छन् र नेपाली साहित्यको आकाशमा आदिकविका रूपमा सम्मान पूर्वक चम्किरहने छन् ।