१ कार्तिक २०८३, आइतबार

भैरव रिसालले भनेका थिए- मृत शरीर ज्यूँदोहरुलाई काम लाग्ने रहेछ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । आइतबार साँझ ९७ वर्षको उमेरमा निधन भएका वरिष्ठ पत्रकार भैरव रिसाल पछिल्लो नेपाली पत्रकारिताप्रति चिन्तित थिए ।

केहीमहिना उनले विगतको तुलनामा हाल पत्रकार र समाचारको महत्व नै खस्किएको सुनाएका थिए । ‘पहिले पत्रकारको धेरै इज्जत थियो । समाचारको धेरै महत्व थियो । अहिले नयाँ पुस्ताका साथीहरुले त्यो इज्जत राखे हुन्थ्यो जस्तो लाग्छ । तर इज्जत राखेको देखिदैन् । पार्टी र पत्रकारिता छुट्याउन सकिने अवस्था छैन,’उनले भने,‘हाम्रो पालामा सानो एउटा समाचार अखबारमा छापिंदा प्रधानमन्त्रीले बोलाएर सोध्ने चलन थियो । त्यसले गर्दा समाजमा पत्रकारिताको मान्यता राम्रो थियो । पत्रकार भनेपछि विश्वास हुन्थ्यो ।’

रिसालले सम्पादकीय स्वतन्त्रता र सुरक्षित भएन भने पत्रकारिता नरहने जिकिर पनि गरे । उनले भने,‘पत्रकारिता स्वतन्त्र हुनैपर्छ । पत्रकार लगानीकर्ताको कन्ट्रोलमा हुनुहुँदैन । पत्रकारको कलमले जे लेख्छ त्यो सर्वसाधरणले हेर्छन् । त्यसैले कलम नियन्त्रित हुनु हुँदैन । पत्रकारितालाई पेसा व्यवसायभन्दा निष्ठामुखी बनाउनुपर्छ । वास्तवमा पत्रकारिताको ज्यानमा हुनुपर्ने जे थियो, त्यो छैन् । ज्यान नभएको लास त कति हो छन् । त्यसैले अहिलेको पत्रकारिता मान्छेले पत्याउन छाडे । विश्वसनियता सुरक्षित हुनुपर्ने त्यो छैन । नयाँ पुस्ताको पत्रकारिता दौडधुप गर्ने कम छन् र यान्त्रिक पत्रकारितामा बढी क्रियाशील देखिन्छ ।’

रिसालले नेपाली राजनीतिलाई पनि तर्कपूर्ण र व्यवहारिक रुपमा तर्क गर्ने गरेका थिए । उनी भन्दथे, ‘राजनीति हराएको राजनीति भयो । राजनीति भएको राजनीति हुनुपर्ने हराएको भएको छ । यसलाई पल्ट्याउनुपर्छ भन्ने म सोच्छु । नेताले नेतृत्व राम्रोसँग गरोस र मुलुक बनोस् । जनताले धेरै खोज्ने भनेको बत्ती, पानी, बाटो रहेछ । यसमा सन्तुष्टि हुने रहेछन्,’उनले अगाडि भनेका थिए,‘इमान्दारितापूर्वक अनुकरणीय काम गर्नुहोस । पैसा नै सबै थोक होइन् । पैसाभन्दा पनि मरेपछि पनि बाँच्ने उत्तम काम गर्न सके राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेकाथिए । सोही अनुसार रिसालको शव पाटन अस्पताललाई प्रदान गरिएको छ । उनले शरीर दानका विषयमा खुलेर बोलेका पनि थिए । ‘तिब्बती संस्कृतिमा मान्छे मरेपछि कता फर्केर, के भएर मरेको छ त्यो हेरेर जलाउने की पशुलाई दिने चलनछ । शरीर चराचुङ्गीलाई दिने की, माछालाई दिने भन्ने छ । हामी बुढाबुढी पनि मरेको शरीर जिउँदो मान्छेलाई काम लाग्छ भने किन नदिने भन्ने हिसाबले दान गर्न चाहेको हुँ । तर यहाँ मान्छेहरुलाई मृत शरीर दान लिनको लागि कठिन भइरहेको छ,’उनले भने ।

पत्रकार भैरव रिसाल पत्रकारितामा उत्कृष्ट योगदान पुर्याए वापत राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा वातावरण पत्रकारितामा योगदान गरे वापत डब्लूडब्लूएफको अब्राहम कन्जभेसन अवार्ड, विज्ञान प्रविधि प्रवद्र्धन पुरस्कार, जगदम्बाश्री पुरस्कार लगायतका अनेकौँ सानाठूला पुरस्कारबाट सम्मानित भएका थिए ।

उनको जन्म वि.सं. १९८५ सालमा भएको थियो । भक्तपुरको गुण्डु गाविसमा जन्मिएका रिसालको त्यहाँबाट तीनकिलोमिटर नजिक लुभु पाठशालामा संस्कृतको प्रारम्भिक अध्ययन गरेका थिए । निम्न माध्यमिक तहको अध्ययन पूरा गरेपछि तीनधारा पाठशाला हुँदै बनारसबाट संस्कृतमा आचार्यसम्मको अध्ययन गरेका थिए ।

विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा लागेका रिसाल केही समय नेपाल मजदूर किसान पार्टीसँग आवद्ध पनि भएका थिए । उनको ‘साधुलाई सूली’, ‘सुशीला भैरव’ जस्ता कृतिहरु प्रकाशित छन् ।