
काठमाडौं, २३ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संविधान बाहिर कोही पनि जान नसक्ने बताएका छन् ।
शनिबार पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिद्वारा ललितपुरमा आयोजित तेस्रो राष्ट्रिय परिषद् बैठकमा बोल्दै पोखरेलले यति बेला देशको संविधान र व्यवस्था माथि चुनौती दिने गरी केही शक्ति लागेका बताएका हुन् । पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको उनको धारणा छ ।
राजावादीले संसद् भवन र पेट्रोल भण्डारण स्थल तथा अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लगाउने खालका आतङ्कित गतिविधि गरेका पोखरेलले बाउनुभयो । यो आपराधिक क्रियाकलापमा संलग्न र जिम्मेवार मानिसहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले स्पट पारे । ‘काठमाडौंमा प्रदर्शनको नाममा जुन हरकत भए ती आपराधिक, संविधान विरोधी र जनविरोधी क्रियाकलापको रूपमा भएका छन्’, उनले भने ।
सभाको नाममा आतङ्क मच्चाउन भिडलाई निर्देशित गर्ने काम राजावादीले गरेको उनले बताए । यो घटनामा पूर्वराजा ज्ञानेन्द्र उम्कन नसक्ने उनको धारणा छ । नवराज सुवेदी र दुर्गा प्रसाईँलाई निर्मल निवासमा बोलाएर आन्दोलनको नाइके बनाउने पुर्वराजा ज्ञानेन्द्रले चैत १५ गतेको घटनाको सबै जिम्मा लिनु पर्ने बताउँदै उनले भने, ‘१५ गतेका दिन नेपालको लोकतान्त्रिक आन्दोलनको लागि कालो दिन हो, यो घटनामा संलग्नलाई दण्ड सजाय हुनुपर्दछ’,।
पोखरेलले समाजमा असल कुरा स्थापनाको लागि असललाई असल र खराबलाई खरा भन्न सक्नु पर्ने धारणा राखे । पञ्चायतको समयमा नेपाली जनताले पेटभरि खान नपाएको स्मरण गराउँदै उनले अहिले पनि त्यो व्यवस्था ठिक र अहिलेको व्यवस्था गलत भन्ने भ्रम फिँजाउँदा पनि त्यसलाई चिर्न नसक्नु विडम्बनाको कुरा भएको बताएका छन् । पञ्चायतमा ४९ प्रतिशत जनसङ्ख्या गरिबिको रेखामुनि रहेको उनले स्मरण गराए । ‘अहिले विश्व बैङ्कको रिपोर्ट अनुसार दक्षिण एसियामा सबैभन्दा बढी खान लाउन पुग्ने जनसङ्ख्या नेपालको हो, परिवर्तन यति धेरै भएको छ, खालि केही भएन भनेको छ, अनेक हल्ला गरेको छ’, उनले भने ।
सचेत नेपालीले सत्य र तथ्यको आधारमा बहस गर्नुपर्ने उनको धारणा छ । ५२ वर्षको औसत आयु बढेर ७२ वर्ष पुगेको, बाल र मातृ मृत्युदर अति न्यून भएको, साक्षरताको स्थितिमा यस बिचमा व्यापक सुधार भएको, असमानताको खाडल पुरिँदै गएको, आर्थिक वृद्धिदर बढेको, विकासका कामले छलाङ मारेको लगायतका उदाहरण प्रस्तुत गर्दै उनले केही भएन भन्नेलाई यी तथ्यमा टेकेर जवाफ दिनु पर्ने बताए । ‘मनोगत प्रचार गर्नेहरूले मनोगत प्रचार गरिरहन्छ, हामी त्यसलाई पनि चिर्न सक्दैनौँ’, पोखरेलले भने ।
उनले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउनेहरु अपराधी भएको बताउनुभयो । ‘पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौँ, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्न सक्नु पर्दछ’, उहाँले भने ।
संघीयताले के दियो भन्नेलाई प्रदेश र स्थानीय तहले बनाएका सडक मात्रै हेर्न पनि उनले आग्रह गरे । ‘तथ्यमा प्रवेश गरेर कुरा गरौँ, हामीले यति ठुलो छलाङ मारेका छौँ’, पोखरेलले भने । भ्रममा बाँचेको समाजले प्रगति गर्न नसक्ने बताउँदै पोखरेलले समाजलाई भ्रमबाट चिर्नु पर्ने बताए । सामाजिक सञ्जालबाट केबल भ्रमको खेती मात्र गरिएको उनको भनाई छ ।
राज्यले लगानी गरेको ठाउँले उचित प्रतिफल दिनुपर्छ भनेर प्रधानमन्त्रीले बोल्दा शिक्षकलाई अपमान गरियो भनेर प्रचार गरिएको पोखरेलले स्पष्ट पारे । शिक्षकहरूले हामीले सेवा सुविधा देऊ, हामी परिणाम दिने गरी काम गर्छौँ भनेर भन्न सक्नु पर्ने उनको धारणा छ । ‘परिणामको बारेमा छलफल, बहस नै नगर्ने, तर सेवा सुविधा मात्र खोज्ने कुरा उचित हुँदैन’, उनले भने ।
सेवा प्रवाहमा जे जे कुराले समस्या पुर्याएको छ त्यसलाई सुधार गर्ने तर सेवा प्रभाकारी हुनुपर्छ भनेर सरकार लागेको पोखरेलले बताउनुभयो । त्यसैले सरकारले विभिन्न कानुन संशोधन गरेको पोखरेलले स्पष्ट पारे । संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटो भन्दा छिटो कानुन बनाउन पर्छ भन्ने कुरामा वर्तमान सरकार र त्यसमा संलग्न दुई प्रमुख दल प्रतिबद्ध रहेको उनले बताएका छन् ।















प्रतिक्रिया