
काठमाडौं, २० चैत । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय शसक्तिकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप सिजनभरी गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने भएको छ । विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरीय शिक्षाका लागि योगदान पुर्याउने फाउन्डेसनले प्रतिवद्धतामा व्यक्त गरेको हो ।
मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भईसकेको छ । यसरी वितरण हुने सामग्रीहरुमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू हुनेछन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरुको सिकाइ अनुभव सुधार गर्न योगदान पु¥याउने एनसेलको लक्ष्य रहेको छ ।
“हाम्रा समुदायहरुको सम्बन्ध फुटबलसँग गहिरो छ र यो पहलले फुटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उदेश्य राखेको छ,” एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “हामी नेपाल सुपर लिगका सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्छौं र यस महत्वपूर्ण उद्देश्यका लागि थप गोलहरू हुनेमा उत्साहित छौं।”
एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) का दौरान, फाउन्डेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चत गरेको थियो । त्यसअनुसार, एनपीएलका ६५३ चौकाहरू बापत फाउन्डेसनले कुल २,६१२ शैक्षिक सामग्रीहरु वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरीका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई पाँचहजार भन्दा बढी शैक्षिक सामग्रीहरु वितरण गरिसकेको छ।
एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ ।















प्रतिक्रिया