काठमाडौँ, २८ असार । नेपालमा क्रिश्चियन धर्म प्रचारको प्रसंग विवादमा परिरहेका बेला विभिन्न पार्टीका नेताहरुले नेपाली क्रिश्चियन धर्माबलम्बीहरुलाई ढाडस दिने काम गरेका छन् ।
राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले आइतबार गरेको गते “नयाँ संविधानमा धर्मनिरपेक्षता कार्यान्वयन र पूर्ण धार्मिक स्वतन्त्रता” विषयक राष्ट्रिय विचार गोष्ठीमा दलका नेताहरुले ऐक्यबद्धता जनाएका हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाल कहिल्यै पनि हिन्दू राष्ट्र नभएको र यो सबै धर्मावलम्बीहरुको साझा राष्ट्र रहिआएको बताए । धर्मनिरपेक्षता राष्ट्रको आवश्यकता भएको र सो कुरालाई राष्ट्रले अंगिकार गरिसकेकोले अब राष्ट्र त्यसबाट पछि हट्नै नसक्ने नेपालको दावी थियो ।
कांग्रेस नेता अर्जुननरसिं केसीले नेपाल सबै धर्मावलम्बीहरुको भएकाले सम्पूर्ण धर्मका नागरिकले आफ्नो आस्था अनुसार स्वतन्त्र रुपमा त्यसको अभ्यास, अवलम्वन र संरक्षण गर्न पाउनुपर्ने बताए ।
एमाओवादी नेता राम कार्कीले धर्म भनेको राज्यको सरोकारको विषय होइन् भन्दै यसलाई पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्ने बताए । धार्मिक स्वतन्त्रताको सुनिश्चिततासहित समग्र संविधानको मस्यौदालाई समीक्षा गरी सुझाव दिन उनले आग्रह गरे ।
कार्यक्रममा महासंघका सह–अध्यक्ष तथा सूचना तथा जनसम्पर्क समितिका संयोजक डा. इशुजङ्ग कार्कीले नेपाली ख्रीष्टियनहरु नागरिकका मौलिक हक अधिकारहरु उपभोग गर्नबाट बञ्चित भइरहनु परेको बताए ।













प्रतिक्रिया