२८ आश्विन २०८३, बुधबार

पर्यटन क्षेत्रमा शुभ संकेत देखिन थाल्यो: राजेन्द्र सापकोटा, सदस्य, नेपाल पर्यटन बोर्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Sapkota

पर्यटन बोर्ड लामो समय विवादमा पर्‍यो । यसको अल्झन कसरी फुक्दैछ ?

लामो समयको द्वन्द्वले गर्दा अपेक्षाअनुसार काम हुन सकेन । केही समय अगाडि अख्तियार अनुसन्धान दुरुपयोग आयोगले २३ जना उच्च अधिकारीबिरुद्ध मुद्दा दर्ता गरेर निलम्बनमा पारेपछि हामीलाई केही अप्ठ्यारो परिस्थिति सिर्जना भयो । तर, तत्काल बसेको बोर्डको बैठकले मेरो संयोजकत्वमा उपसमिति निर्माण गरेको छ । हामी तीन जनाले अहिलेको बोर्ड सम्हालेका छौँ । अहिले नेपालका संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्यकासाथ पर्यटन बोर्ड अगाडि बढेको छ । उच्चस्तरका कर्मचारीको अभाव नखड्कने गरी काम गरिरहेका छौँ । बोर्डलाई पहिलेकै अवस्थामा फर्काउने काम भइरहेको छ ।

पर्यटन बोर्डले महत्वपूर्ण भूमिका खेल्ने समय आफै थलिएर बसेको छ । नेपालको पर्यटन क्षेत्र उठ्न अझ धेरै समय कुर्नु पर्ला हैन ?

हामीले भूकम्प गएको दिनदेखिनै पर्यटकलाई सेवा, सूचना दिने काममा खटिएका छौँ । भूकम्पपछि हजारौँ पर्यटकहरु बिमानस्थलमा अलपत्र पर्नुभयो । त्यहाँ हामीले पानीका बोतल र चाउचाउका पोकाहरु लगेर वितरण गर्‍यौँ । यातायातको व्यवस्था गर्‍यौँ । पर्यटन मन्त्रालय र बिभिन्न पर्यटनसम्बन्धी संस्थाहरुसँग सहकार्य गरी देशका विभिन्न ठाउँमा रहेका पर्यटकको उद्धारमा खटियौँ । विवादको कारण केही गरिएन भन्ने चाँहि होइन ।

 अमेरिका, बेलायत, नेडरल्याण्ड, स्वीजरल्याण्ड, इटलीजस्ता मुलुकहरुले ट्राभल एडभरजाइजरी हटाएर नेपाल अब भ्रमण गर्न ठीक छ भनेका छन् । यसले पर्यटक बढ्ने अपेक्षा गरेका छौँ । भारतीय दुताबासको सकारात्मक भूमिकाले भारतबाट पर्यटक आगमन शुरु भएको छ । अहिले चीनतर्फबाट पनि सकारात्मक संकेत देखापरेको छ ।

अहिले पर्यटकीय क्षेत्रमा संकटकाल लागेजस्तो भएको छ, पहिलेकै अवस्थामा फर्काउन त निकै चुनौती छन् होलानी ?
नेपालमा साँढे आठ लाखको हाराहारीमा पर्यटकहरु आइरहेका थिए । यो वर्ष त्यही अवस्थामा पुग्न भने गाह्रो छ । तैपनि पाँच लाख पर्यटक भित्राउने गरी लागेका छौँ । विकासोन्मुख मुलुकमा यस्तो बिपत्ति आउँदा पीडा त हुनेनै भयो । बिभिन्न मुलुकले नेपाल ट्रेकिङको लागि असुरक्षित छ भन्ने एडभाइजरी जारी गरेको कुराले हामी त्रसित भने छौँ । तर, अहिले केही शुभ संकेतहरु देखिन थालेका छन् । अमेरिका, बेलायत, नेडरल्याण्ड, स्वीजरल्याण्ड, इटलीजस्ता मुलुकहरुले ट्राभल एडभरजाइजरी हटाएर नेपाल अब भ्रमण गर्न ठीक छ भनेका छन् । यसले पर्यटक बढ्ने अपेक्षा गरेका छौँ । भारतीय दुताबासको सकारात्मक भूमिकाले भारतबाट पर्यटक आगमन शुरु भएको छ । अहिले चीनतर्फबाट पनि सकारात्मक संकेत देखापरेको छ ।

केही पर्यटकीय गन्तव्यहरु समस्यामा छन्, तिनीहरुको समाधान चाँहि कसरी गर्ने ?

जापानको निमतोको टिमले नेपालका भूकम्पसम्बन्धी अध्ययनको रिपोर्ट हामीलाई भर्खर बुझाएको छ । जसले संसारका भूकम्प प्रभावित देशको तत्काल अध्ययन गर्ने काम गर्छ । उक्त रिपोर्ट अनुसार सोलुखुम्बुमा थोरै (१७ प्रतिशत) मात्र क्षति पुगेको छ । त्यहाँका केही लज र बाटोमा समस्या छन् । त्यसैले सेक्टेम्बरभन्दा अगाडिनै सगरमाथा आरोहणको काम शुरु गरिसक्छौँ । लामटाङमा बोर्डसँग सहकार्य गरी स्थानीयनै पुर्ननिर्माण कार्यमा सक्रिय भएका छन् । मनास्लुमा अलि गाह्रो छ । अन्य क्षेत्रमा भने त्यति धेरै क्षति छैन । सौभाग्यबस हाम्रा एयरपोर्ट, हाइवेहरु ठीक छन् । काठमाडौंका ९५ प्रतिशत होटलहरु सुरक्षित छन् । ३० प्रतिशत सम्पदा मात्र क्षतिग्रस्त बनेको छ । अब नेपाल भूकम्प सम्बन्धी अध्ययन गर्नका लागि पनि केन्द्र बनेको छ । हामीसँग भत्केका र बाँकी रहेका दुवै भौतिक संरचना छन् । यसमा विदेशीहरु खुब रुचि राख्छन् ।

तपाइहरुसँग तत्काल पर्यटक भित्राउने के सुत्र छन् ?

अहिले सचेतनामुलक कार्यक्रमहरु गर्दछौँ । मिडियाकर्मीसँग अन्तरक्रिया गरी आन्तरिक पर्यटकलाई प्रबद्र्धन गरी अगाडि बढिरहेका छौँ । भर्खरै भारतीय सञ्चारमाध्यममा कार्यरत पत्रकारको पाँच वटा समुह चीनको एउटा समुहलाई नेपाल भ्रमण गराएर हाम्रो पर्यटन यथार्थ बारे जानकारी गराएर सामाचार पोष्ट गरिदिन आग्रह गरेका थियौं । अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीसँग सहकार्य गरेर नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउने ढंगले अगाडि बढेका छौँ । भारत र चीनको उच्चस्तरीय मिडियाकर्मीसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम गराएका छौँ । नेपालका लागि भारतका राजदूतको सक्रियतामा सिम्लामा गन्तव्य नेपाल नामक कार्यक्रम ग¥यौँ । यो कार्यक्रम सिंगापुर, थाइल्याण्डमा पनि गर्दैछौँ । हामी संसारभरको पर्यटन मेलामा भाग लिनेछौँ । अस्ति भर्खर हङकङमा भएको पर्यटन मेलामा भाग लिएर फर्किएका छौँ । अब एक महिनापछि जापानमा हुने पर्यटन मेलामा भाग लिदैछौँ ।

तर, अब नेपालको पर्यटन उद्योग पाँच–सात बर्षसम्म उठ्दैन भन्न थालेका छन् । यस उद्योगमा आउन चाहनेहरु पनि पछि हटिसकेका छन्, वास्तबिकता यस्तै हो ?

नेपालजस्तो संसारमा अर्को ठाउँ छैन । सगरमाथा, हिन्दू धर्मको प्रमुख धार्मिक स्थल पशुपतिनाथ, बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा छ । यस्तो विविधतामा एकता भएको मुलुकमा पर्यटक आउँदैन् भन्ने कुरा कल्पनाबाहिरको कुरा हो । मैले दाबाका साथ भन्छु, यो वर्ष नै पर्यटन व्यवसायीले अपेक्षा नगरेको पर्यटन क्षेत्र पुनर्स्थापना हुन्छ । पाँच लाख मात्रै पर्यटक ल्याउने हो भने पर्यटन व्यवसायीहरु टिक्छन् । त्यो हामी गर्न सक्छौँ । अर्को वर्षबाट त पहिलेकै अवस्थामा फर्कन्छौ र २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने गरी हामी लागेका छौं । अहिले मन्त्रालयको पनि पूर्वाधारको विकासमा ध्यानाकर्षण भएको छ । त्यसकारण हतोत्साहित हुनु पर्नेजस्तो देख्दिन । नयाँ व्यवसायीलाई बुझेर र धैर्यता अपनाएर प्रवेश गर्न आग्रह गर्दछु ।

भूकम्पपछिको पर्यटन विकासको लागि सरकारले के गर्नु पर्ला ? बाहिरी राष्ट्रहरुको पनि केही भूमिका रहन्छ कि ?

सरकारले पूर्वधार निर्माण र सम्पदा पुनर्निर्माणमा जोड दिनु पर्दछ । टे«किङका लागि नेचुरल ब्युटी, गुम्बा र होम स्टेहरु प्रमुख हुन् । तिनीहरु ध्वस्त भएका छन् । अर्को कुरा आगामी बजेटमा अर्थमन्त्रीज्यूले बिभिन्न खालका प्याकेजहरु ल्याइदिनुपर्छ । अहिले प्रायः व्यवसायीहरु आत्तिएका छन् । तत्कालका लागि व्यवसाय ठप्प छन् । त्यसैले सरकारले लगानीकर्ताको ऋण, साँवा ब्याज एक वर्षपछि धकेलिदिनुपर्‍यो । ब्याज र राजश्वमा सहुलियत दिनु पर्‍यो । यसो गरेमा व्यवसायीमा उत्साह थप्छ । नत्र केही साथीहरु बिस्थापित हुन सक्छन् ।

विदेशमा रहेका कुटनीतिक नियोग र नेपालमा रहेका कुटनीतिक नियोगहरुबीचको इन्टरनेसनल टुरिजम कन्फ्रेन्सको आयोजना गर्नुपर्दछ । यसो गरेर संसारभर नेपाल संरक्षित छ भन्ने सन्देश फैलाउन आवश्यक छ । र, विदेशमा रहने कुतनीतिक नियोगले नेपालको पर्यटन प्रबद्र्धनको लागि टुरिजम डेक्सको स्थापना गरेर विभिन्न गतिविधिहरु सञ्चालन गर्न सक्नुपर्छ । त्यसको लागि राज्यले रिसोर्स फन्डको ब्यवस्था गरिदिनुपर्छ ।

भूकम्पपछि नेपालका आन्तरिक पर्यटकहरु भ्रमणमा निस्कनै छाडेका छन् । १२ वटा जिल्लाबाहेकका हाम्रा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन् । जस्तैः मुस्ताङ, पोखरा, चितवन, खप्तड, अन्नपूर्ण, कञ्चनजंगा, लुम्बिनी, बर्दियालगायतका ठाउँमा केही समस्या छैन । त्यसैले अब चलमलाउनु पर्‍यो । ट्रिपमा झन सुरक्षित महसुस हुन्छ ।

प्रस्तुतिः विश्वास खड्काथोकी / दैनिक नेपाल