७ कार्तिक २०८३, शनिबार

‘गाउँका सबैजना पालैपालो खोला धाउछौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

syaaldagi-1

– लक्ष्मी काफ्ले

बिर्तामोड । मेची अञ्चलको मुटु बिर्तामोड हरेक दृष्टिकोणले सुगम मानिन्छ । तर, तीब्र गतिमा विकास भईरहेको यस शहरदेखि एक किलोमिटर पूर्व–दक्षिणमै एउटा बतिमुनीको अध्यारोको रुपमा पिछडिएको गाउँ छ । नगरपालिका भित्रकै त्यो गाउँ स्यालडाँगीमा एउटा पनि शौचालय छैन भन्दा विश्वास गर्न कर लाग्छ ।

एक लाख २३ हजार दुई सय ४८ जनसंख्या रहेको बिर्तामोडमा २५ हजार ४ सय ७७ घरधुरी छन् । सरकारले सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त घोषणा गर्ने कुरा गरिरहेका बेला स्यालडाँगीका सयौं घरधुरी शौचालयबिहीन छन् । बिहान उठेर खोलाको डिलतिर कुद्नु उनीहरुको पहिलो कार्य हो ।

‘बिहान–बिहान ड्यूटी जाने बेलामा ट्वाइलेट लाग्छ तर कसैको घरमा ट्वाइलेट छैन,’ दैनिक मजदुरी गरेर गुजारा गर्ने स्थानीय हरेश चौधरीले बिना संकोच भने– ‘गाउँका सबैजना खोला धाउछौं ।’ चौधरीका अनुसार गाउँका अधिकांश मजदुरी गर्छन् । दिनभरी ज्यालादारी गरेर ल्याएको पैसाले बेलुका छाक टार्नसमेत उनीहरुलाई धौ–धौ पर्छ । ‘ज्याला–मजदुरी गर्दै ठिक्क हुन्छ, ट्वाइलेट बनाउने पैसा नै पुग्दैन अनि कसरी बनाउनु ?’ उनले भने– ‘हाम्रा लागि सरकारले ट्वाइलेट बनाइनिुपर्छ ।’

खुल्ला दिसामुक्त बनाउने सरकारको योजनाअनुसार बिर्तामोडभित्रका बस्ती–बस्तीमा पुगेर फोहोरमैला सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरेको नगरपालिकाका एक कर्मचारी बताउँछन् । सरकारको नीतिअनुरुप नगरपालिकाले कार्यक्रम अघि बढाउने उनले बताए । तर, स्यालडाँगीबासी ‘खुल्ला दिसामुक्त’ भनेकै थाहा नभएको बताउँछन् ।

बिर्तामोड नगरपालकाको ५ नम्बर वडामा पर्ने स्यालडाँगीका बासिन्दा हरेक कुरामा पछि परेका छन् । छेउमा बग्ने धरधरे खोलामा पुल हाल्ने उनीहरुको सपना हालसम्म पूरा भएको छैन । नगरपालिका घोषणा भएपछि पुल बन्ने आशामा त्यहाँका बासिन्दा नगरपालिका कार्यालयसम्म धेरैपटक पुगे । नगरपालिकाले दिएको पाँच लाख र उनीहरु आफैंले संकलन गरेको एक लाख गरी छ लाख रुपैयाँमा नगरपालिकामार्फत नै पुल बनाउने ठेक्का लगाइएको थियो । तर, दुईवटा पिलर उठाउने बित्तिकै ठेकेदारले बजेट सकिएको बताएपछि स्यालडाँगीका बासिन्दा निराश बनेका छन् ।

पुल नहुँदा वर्षा याममा त्यस गाउँका अढाई सय विद्यार्थीलाई विद्यालयसम्म पुग्न मुस्किल पर्छ । खोलामा एक्कासी पानी बढ्नाले मियाबाढीबाट मजदुरी गर्न दिनहुँ बिर्तामोडसम्म धाउने अढाई सय मजदुरलाई वारीपारी गर्न समस्या भएको छ । ‘हामी त लुगा खोलेर डुब्दै तर्र्छौं,’ चौधरीले भने– ‘तर, महिला र केटाकेटीलाई साहै्र दुःख छ ।’ सरकारले खोलाबाट बालुवा झिक्न रोक लगाएकाले तत्काल केही गर्न नसकिने भन्दै नगरपालिकाले निराश पारेको स्थानीय सक्रिय युवा एन्बीन्द्र खत्रीले बताए ।

नगरपालिका कार्यालयबाट दश मिनेटको दुरीमा रहेको गाउँमा खानेपानीको समस्या छ । बिजुलीका पोल हावाहुरीले ढल्काएको छ । ‘हर्कलाल मार्ग जोड्ने बाटोमा मान्छे डुब्ने खाडल छ,’ खत्रीले भने– ‘बिर्तामोडबाट सबैभन्दा नजिकमा रहेको हाम्रो गाउँ बत्तीमुनीको अँध्यारेमा पर्यो ।’ दुईवटा पिलर बनाउँदै ठेकेदारले बजेट सकिएको बताएपछि गाउँलेले नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्तीलाई बोलाएरै देखाए । ‘उहाँले बाँसको चाङ लगाएर वारीपारी गर्नु भन्नुभयो,’ खत्रीले भने– ‘तर, अहिले पङ्खा लगाइदिने रे भन्ने हल्ला पनि सुन्दैछौं ।’

दश मिनेटमा बिर्तामोड निस्किने मजदुरहरु बाढी आउँदा एक घण्टाको बाटो घुम्छन् । गाउँका छ सय घरधुरीका बासिन्दा हिलाम्ये सडकमा हिँड्न बाध्य छन् । सोही गाउँकी तेजकुरमारी दर्जीको पीडा पनि उस्तै छ । खोलाको डिलैमा घर भएकी उनी बिहान–बेलुका रक्सी बेचेर गुजारा गर्छिन् । स्थानीय एक विद्यालयको जग्गा रेखदेख गर्ने उनी बाढीले जग्गा सोहोर्ने हो कि भन्ने चिन्तामा छिन् । ‘हामी त अशिक्षित छौं, गरीव छौं,’ दर्जीले भनिन्– ‘तर हाम्रा नानीहरु हामीजस्ता नहोउन्, बलैमा पुल बनाइदिए राम्रो हुन्थ्यो ।’