७ कार्तिक २०८३, शनिबार

एमाओवादी नेताले कीर्ते दस्तखत गरी पार्टीको करोडौँको जग्गा बेचे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist-Communist-Party-of-Nepalकञ्चनपुर, २७ असार । एकीकृत नेकपा (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य नरहरिनाथ योगीले कीर्ते दस्तखत गरेर गोप्य रुपमा सङ्गठनको करोडौँ मूल्य पर्ने जग्गा बिक्री गरेको खुलासा भएको छ ।

महासङ्घका केन्द्रीय सदस्य तथा थारुवान राज्य समिति इन्चार्ज योगीले सङ्गठनको नाममा रहेको भीमदत्तनगरपालिका– ४ बसपार्क क्षेत्रकोे एककट्ठा जमिन किसान हाइड्रो प्रालि मोरङलाई बिक्री गरेको खुलासा भएको हो ।

महासङ्घले आफ्नो जमिनमा भवन बनाउनका लागि तयारी थाल्दा महेन्द्रनगरका स्थानीय व्यवसायी नारद पाण्डेले सो जमिन आफूले किसान हाइड्रो प्रालिबाट किन्न लागेको बताएपछि जग्गा बिक्री भएको खुलासा भएको अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष पदम जोशीले बताउनुभयो ।

सङ्गठनले कार्यालय भवन बनाउनका लागि खरिद गरेको जग्गा कसैलाई जानकारी नगराई अवैध रुपमा बिक्री गरेर व्यक्तिगत स्वार्थपूर्ति गरेकाले योगीमाथि कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य योगीले आफूले जग्गा बिक्री गरेको नभएर केन्द्रीय कार्यालयले जलविद्युत्मा सेयर लगानी गर्ने उद्देश्यले जमिन बिक्री गरेको बताउनुभयो । “सेयरबापतको लाभांश जिल्ला र केन्द्रलाई आधाआधा हुने भएकाले जग्गा बिक्री गरिएको हो” – उहाँले भन्नुभयो ।

एमाओवादी कञ्चनपुरका सचिव गोपाल रसाइलीले सङ्गठनको नाममा रहेको जग्गा कीर्ते दस्तखत गराएर जमिन बिक्री गर्ने योगीलाई साङ्गठनिक रुपमा कारबाही हुने बताउनुभयो ।

उहाँले सङ्गठनको जग्गा पार्टीसँग कुनै किसिमको सल्लाह नै नगरी कीर्ते दस्तखत गराएर बिक्री गरेर गैरकानुनी कार्य गरेको र सङ्गठनको नीति विपरीत काम गरेकाले कारबाही हुने उल्लेख गर्नु भयो ।

यसैबीच अखिल नेपाल ट्रेड युनियन महासङ्घ कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दै कीर्ते दस्तखत गरेर जग्गा बिक्री गर्ने योगीमाथि कारबाहीको माग गरेको छ । रासस