कञ्चनपुर, २७ असार । लोपोन्मुख अवस्थामा रहेको बहुमूल्य जडीबुटी सर्पगन्धा कञ्चनपुरको भगवती सामुदायिक वनमा फेला परेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का वरिष्ठ वैज्ञानिकको टोलीले सामुदायिक वनमा लोपोन्मुख सर्पगन्धाका बिरुवा फेला पारेको हो ।
कञ्चनपुरका सरकारी र सामुदायिक वनमा वनस्पतिको औषधिमुलक जडिबुटी नमुना र बीउबिजन सङ्कलनका लागि पुगेको वरिष्ठ वैज्ञानिक डा रामचन्द्र पौडेल र डिकेन्द्र खड्काको टोलीले सङ्कटापन्न अवस्थामा पुगेको सर्पगन्धाका बिरुवा फेला पारेको हो ।
“संरक्षणको सूचीमा रहेको सर्पगन्धा तराईका वनमा लोप भइसकेको ठानेका थियौँ”, वरिष्ठ वैज्ञानिक पौडेलले भन्नुभयो, “सामुदायिक वनमा दशभन्दा बढी बिरुवा फेला पारेका छौँ ।” सर्पगन्धा मानसिक रोगीका लागि अचुक औषधि भएकाले यसको संरक्षणमा जोड दिनु पर्ने उहाँले बताउनुभयो ।
चुरे क्षेत्रका सामुदायिक वनमा लोपोन्मुख अवस्थाका कयौँ जडीबुटी रहेका भए पनि यसको व्यवस्थापन र पहिचान हुन नसक्दा त्यतिकै खेर गइरहेको उहाँले उल्लेख गर्नु भयो । सामुदायिक वनका अध्यक्ष कृष्ण ठगुन्नाले बहुमूल्य जडीबुटी वन क्षेत्रमा रहेका भए पनि पहिचान नहुँदा पशुको आहाराका रुपमा प्रयोग हुँदै आएको उल्लेख गर्दै नास्टका वैज्ञानिकको टोलीले जडीबुटी पहिचान गराउने कार्य गरेकाले यिनको संरक्षणका लागि जनचेतना र वन क्षेत्र विस्तार गर्नका लागि सघाउ पुगेको धारणा राख्नु भयो ।
नास्टको मोलिक्युलर बायोटेक्नोलोजी युनिटका वैज्ञानिकले कञ्चनपुरमा एक सातादेखि संरक्षण, खेतीप्रसारण र अनुसन्धानका लागि प्राथमिकता सूचीमा सूचीकृत गरेका वनस्पतिको ‘डिएनए’ परीक्षण गर्नका लागि बीउ र हाँगा पात सङ्कलनको कार्य गरिरहेका छन । रासस















प्रतिक्रिया