खोटाङ, २६ असार । भूकम्पको धक्काले भासिन थालेको खोटाङको खार्पास्थित सिमखर्कमा ‘खेती नगर्न’ विज्ञ टोलीले सुझाव दिएको छ । भूकम्पको असरका कारण क्रमशः भासिन थालेको खार्पा–२ सिमखर्क क्षेत्र र सो ठाउँबाट कम्तीमा एकसय मिटर वरपरसम्म खेती नगर्न विज्ञ टोलीले सुझाव दिएको हो ।
जमिन फाटेका कारण मानवबस्ती नै जोखिममा परेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको आग्रहमा स्थलगत अध्ययन गर्न खार्पा पुगेको जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख हरिप्रसाद पाण्डे नेतृत्वको प्राविधिज्ञको टोलीले सम्भावित खतराबाट जोगिन तत्कालका लागि भासिएको जमिनमा खेती गर्न नहुने सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
सिमखर्कमा करिब पाँच सय रोपनी खेत उल्टो ‘यु’ आकारमा चिरा परेर फाटेको र अझै पनि दैनिक एकबित्ताको दरले जमिन फाट्दै गएका कारण खेती गर्न नहुने अध्ययन टोलीको निष्कर्ष छ ।
लामीडाँडा–दुवेकोल सडकखण्डमा पर्ने सिमखर्कमा स्थानीयवासीले धानखेती गर्दै आएका थिए । धानखेतीका क्रममा गरिने खनजोत तथा प्रयोग गरिने पानीले जमिन झन् भासिने भएकाले सो स्थानमा कम्तीमा एक वर्ष खेती गर्न नहुने अवस्था देखिएको भू–संरक्षण कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।
गत वैशाख–१२ गतेको भूकम्पका कारण धाँजा फाटेको जमिन महिना दिनपछि क्रमशः भासिन थालेको स्थानीयवासीको भनाइ छ । जमिन भासिएपछि जुकेखोला गाउँ खानेपानी आयोजनाको संरचनामा क्षति पुग्दा वडा नं ८ र ९ का ८० घरपरिवार खानेपानीको समस्यामा परेका छन् ।
जमिन चिराचिरा परेर भासिन थालेपछि त्यस क्षेत्रमा गाडिएका तीनवटा बिजुलीको खम्बासमेत भासिएको जनाइएको छ । बिजुलीको खम्बा भासिएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको छ । रासस















प्रतिक्रिया