टीकापुर, २५ असार । सुदूरपश्चिमको पर्यटन विकासका लागि छुट्टै प्याकेज ल्याउन एक कार्यक्रमका वक्ताहरुले माग गरेका छन् ।
नेपाल पर्यटन बोर्ड र सञ्चार प्रतिष्ठान नेपालले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको पत्रकारका लागि पश्चिम भ्रमण वर्ष घोषणा गरी कर छुट लगायतका विशेष कार्यक्रम ल्याउन माग गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य गरिमा शाहले सुदुरपश्चिममा पर्यटन विकासका लागि आफूहरुले सुदूरपश्चिम पर्यटन वर्ष घोषणा सहितको नीति तथा कार्यक्रम ल्याउन माग गरेपनि नआएको बताइन् । उनले नीति तथा कार्यक्रममा नआएपनि पर्यटन बोर्डबाट मध्य तथा सुदूरपश्चिम भ्रमण वर्ष घोषणा गरी त्यस अनुसार बजेट र कार्यक्रम ल्याउन माग गरिन् ।
उनले जबसम्म नेपाल पर्यटन बोर्डमा यस क्षेत्रका जनताको प्रतिनिधित्व हुदैन तबसम्म यस क्षेत्रको पर्यटन विकास हुन नसक्ने बताइन । उनले कार्यक्रममा बोल्दै यस क्षेत्रको पर्यटन विकासका लागि यहाँका सांस्कृति, परम्परालाई बाहिर ल्याउन पत्रकारलाई आग्रह गरिन । उनले हाल सम्म कैलालीको पर्यटन विकासका लागि पर्यटन गुरु योजना समेत नबनेको प्रति दुख व्यक्त गर्नुभयो । उनले कार्यक्रममा भूकम्पपछि काठमाडौं पोखरा लगायत पूर्वि क्षेत्रको पर्यटन गन्तव्य धरासाहीे भएपनि मध्य र सुदूरपश्चिमको पर्यटन गन्तव्य सुरक्षित रहेकोले यसक्षेत्रको भर्जिन पर्यटनलाई सरकारले नयाँ गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताइन् ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ठ अतिथी पूर्व शिक्षा राज्य मन्त्री तथा संविधान सभाका सदस्य मोहन सिंह राठौरले देशमा गएको विनासकारी भूकम्पका कारण पर्यटकको संख्यामा कमी आएका बताउनुभयो । उहाँले यस क्षेत्रको पर्यटन विकास लागि पत्रकारहरुलाई अवलोकनमा गराउनु पर्नेमा जोड दिनु भएको छ । उनले जनप्रतिनिधिको अभावमा अनियमितता बढेको गुनासो गर्दै पर्यटन बोर्डले गरेको काम कारबाही बारे स्पष्ट जानकारी दिनुपर्ने आफ्नो एकसुत्रिय माग रहेको बताए ।
नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिममा पर्यापर्यटन, सांस्कृतिक पर्यटन, कृषि पर्यटन र धार्मिक पर्यटनको सम्भावना रहेको बताए । उनले ती पर्यटन गन्तव्यहरुको विकास लागि पर्यटन बोर्डले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए । त्यसका लागि यसैक्षेत्रको व्यक्तिहरु समेत पर्यटन बोर्डमा प्रतिनित्वि हुनुपर्ने बताए । उनले पर्यटक ल्याएर मात्रै पर्यटन विकास हुन नसक्ने बताउँदै पर्यटक चाहिने सम्पूर्ण सेवा सुविधा गुणस्तरीय हुनुपर्ने बताए । उनीले पर्यटन बहुक्षेत्रीय विकासंग जोडिएकाले यसको विकासले समाजमा सरसफाई, सत्कार, संस्कार, गाउँ परिवेशमै परिवर्तन ल्याउने र समग्र मुलुकको विकासमा सहयोग पुर्याउने बताए ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिव तथा नेपाल पर्यटन बोर्डका योजना महाशाखा प्रमुख राजेन्द्र सिग्देलले यो वर्ष देशमा गएको विनाशकारी भूकम्पका कारण देशमा आउने पर्यटकको संख्या घटेका बताए । उनले नेपाल पर्यटन २०२० सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष पनि भूकम्पकै कारण पुरा नहुने भएको बताए । उनले विदेशी पर्यटक भित्र्याउनका लागि दश वर्षे पर्यटन रणनीति बन्दै गरेको र रणनीति बन्यो भने देशमा भित्रिने पर्यटकको संख्या निकै बढ्ने बताए ।
उनले निकट भविष्यमै पर्यटन बोर्डले पाँच वटै विकास क्षेत्रमा भ्युटावर बनाउन लागेको बताउँदै सुदूरपश्चिमको भ्युटावर राजकाँडामा बनाउन पहल भइरहेको जनाए । उनले यस क्षेत्रको पर्यटन विकासका लागि जिल्ला स्तरबाट गुरु योजना बनाउनका लागि पहल गर्न राजनीतिक दल र पत्रकारहरुलाई आग्रह गरे ।
दुई चरणमा सम्पन्न भएको कार्यक्रमको प्राविधिक सेसनमा पर्यटन बोर्डका खडकविक्रम शाहले नेपालको पर्यटन इतिहास, ऐन, परिचय, सम्भावना र पर्यटन बोर्डले पर्यटन विकासका लागि गरेको प्रयास बारे प्रस्तुती गरेका थिए ।
त्यस्तै, सञ्चार प्रतिष्ठान नेपालका उपाध्यक्ष गणेश चौधरीले पर्यटन विकासका लागि पत्रकार र सञ्चार माध्यमको भूमिकाको विषयमा र राष्ट्रिय विकास परिषदका सदस्य डा रणबहादुर रावलले सुदूरपश्चिमको पर्यटन सम्भावना र त्यसको विकासका लागि गर्न पर्ने कार्यबारे प्रस्तुती गरेका थिए । प्रतिष्ठानका अध्यक्ष प्रकाशविक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कैलाली र कञ्चनपुरका पत्रकारहरु सहभागी भएका थिए ।
















प्रतिक्रिया