२० कार्तिक २०८३, शुक्रबार

सोतीबजारमा बूढीगण्डकीको भेल पस्यो, ३३ घर विस्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

budhi-gandakiगोरखा, २५ असार । अविरल वर्षापछि बूढीगण्डकी नदीमा आएको भेलले गोरखाको थुमी गाविस–६ स्थित सोती बजार बगाएको छ ।

उर्लेको बूढीगण्डकीको भेलले गएराति १२ बजे बजार बगाएको हो । “भेलले पहिले पुछारबजार बगायो”, सोती बजारकी होटल व्यवसायी सपना पन्तले भन्नुभयो, “गाउँले बजार छाडेर जङ्गलमा बसेका छन् ।” सोती बजारमा ३३ वटा घर थिए । तीमध्ये पाँचवटाभन्दा धेरै बाढीले बगाएको हो ।

गाउँलेहरु केओरपानी र भलाकस्वाँरा जङ्गलमा सुरक्षित बसेको पन्तको भनाइ छ । भूकम्पले चिराचिरा परेको जमिनमा बूढीगण्डकीको भेल पसेपछि बजारका केही घर बगेका हुन् । भेलले कच्ची घरमा क्षति पु¥याएको छ ।

बूढीगण्डकीको बाढीले बजार क्षेत्र कटान गरिरहेकाले बाँकी घर पनि बग्ने खतरा रहेको पन्तले बताउनुभयो । नेपाली सेना र प्रहरीको टोलीले स्थानीयवासीलाई सुरक्षित ठाउँमा राखेको छ ।

आज बिहान सोती पुगेको सेना, प्रहरीको टोलीले बाढीबाट जोगिएका घरभित्र रहेका सामग्री निकालेको थियो । बूढीगण्डकी उर्लेर सोती बजारमा बाढी पसेको जानकारी पाएपछि मान्वुदेखि सेना, प्रहरीको टोली पुगेको थियो ।

बजार क्षेत्रमा पसेको पानीको बहाव अझै घटेको छैन । आकाशबाट पानी पर्ने क्रम रोकिएकाले केही घन्टामा नदीमा पानीको बहाव घट्ने पन्तले जानकारी दिनुभएको छ । “गाउँलेहरु त्रासमा छन्”, उहाँले भन्नुभयो, “भूकम्पले बचेको घर बाढीले लग्यो ।” सेना, प्रहरीको १० जनाको टोली सोतीबजार क्षेत्रमा खटिएको भैरवी दल गणका गणपति प्रमुख सेनानी प्रेमबहादुर थापाले बताउनुभयो ।

साथै, सोतीबजार क्षेत्रमा इलाका प्रहरी कार्यालय आरुघाटबाट ११ जना प्रहरीको टोली पठाइएको छ । प्रहरी चौकी आर्खेतबाट पनि प्रहरी खटाइएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।

स्थानीय सोती खोलामा पनि भेल बढेको खनालको भनाइ छ । स्थानीयवासीलाई बाढीबाट जोगाएर सुरक्षित ठाउँमा राखिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताउनुभयो । रासस