३० आश्विन २०८३, शुक्रबार

दाङको कलश र सर्वोत्तम सहकारीबीच एकीकरण

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–हेमराज शर्मा

दाङ, १० फागुन । दाङको घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडबीच भएको एकीकरणको घोषणासभा शनिबार घोराहीमा सम्पन्न भएको छ । दुवै सहकारीको एकीकरणपछि शनिबार घोराहीमा पहिलो प्रारम्भिक साधारणसभा तथा एकीकरण घोषणासभा सम्पन्न भएको हो ।

संस्थाको तदर्थ समितिका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यमा एकीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले छरिएर रहेका सहकारी एकीकृत हुनु अहिलेको आवश्यकता रहेको भन्दै सदस्यमैत्री क्रियाकलापमा कलश बचत र सर्वोत्तम सहकारी अगाडी रहेकाले एकीकरणले सार्थकता पाउने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख प्रेम केसी, राष्ट्रिय सहकारी बैंक लिमिटेड घोराही शाखा प्रमुख प्रदीप अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष विमल अधिकारी, निर्वाचन समितिका सदस्य हेमराज शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस अवसरमा संस्थाका निवर्तमान अध्यक्ष तथा एकीकरण कार्यदलका संयोजक बालचन्द्र शर्माले दुवै संस्था एकीकरणको आवश्यकता औचित्यमाथि प्रकाश पार्दै संस्थाको उद्धेश्य र भावि रणनितीका बारेमा जानकारी दिएका थिए । संस्थालाई दिगो रुपमा सञ्चालन गर्ने, संस्था सञ्चालनको खर्चमा कटौती गरी नाफामूलक बनाउन, संस्थामा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने, सदस्यहरुमा सेवाको वृद्धि र विस्तार, व्यवसायिक क्षमता अभिवृद्धि गर्ने, सक्षम र व्यवसायिक नेतृत्वको खोजी गर्ने, दोहोरो सदस्यता हटाउन सहयोग पुर्‍याउन, सहकारीमा नयाँ प्रविधि र नवप्रवर्तन प्रयोगमा सहयोग पुर्‍याउने उद्धेश्यले संस्था एकीकरण गरिएको शर्माले जानकारी दिएका थिए ।

यस्तै, संस्थाले सदस्यता वृद्धिमा उल्लेख्य विस्तार गर्ने, मोबाइल बैंकिङ एप सञ्चालन गर्ने, शेयर सदस्यहरुलाई मासिक रुपमा ब्याज प्रदान गर्ने, जिरो सेवाशूल्कमा ऋण लगानी गर्ने, सहकारी बजारमा लगानी बढाई सहुलिएत दरमा सामानहरु खरिदबिक्री गर्ने, अनलाइनमार्फत सामानहरुको अर्डर गर्न सकिने सामानको होमडेलिभरी गर्ने, आवश्यक कार्यविधिहरुको निर्माण गर्ने रणनीतिसहित एकीकरण गरिएको कार्यदलका संयोजक शर्माले बताए ।

साविक सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष धुर्वराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज भण्डारीले दुवै संस्थाको एकीकरणपछि १९ करोड बढीको वासलात विवरण भएको जानकारी दिएका थिए भने सचिव विमल योगीले संस्थाको पुनर्लिखित विनियमका विषयमा जानकारी दिएका थिए ।

साधारणसभाले माधव खनालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा चन्द्रावती पौडेल भण्डारी, सचिवमा विमल योगी, कोषाध्यक्षमा नवराज भण्डारी, सदस्यहरुमा शालिकराम खनाल, श्रीकान्त अधिकारी, ईश्वरीप्रसाद आचार्य, केशव रिजाल, मंगला राणा, गेहेन्द्र बस्नेत, गायत्रा खनाल रहेका छन् ।

साधारणसभाले हरिहर आचार्यको संयोजकत्वमा ऋचा डाँगी पाण्डे र श्रीधर योगी सदस्य रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत निर्वाचित गरेको छ ।