
काठमाडौं, २ फागुन । प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टरः टेक वन’का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका छन् । निर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले ‘एक्टर’का निर्माता सम्राट थापा र उनकी कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अनुचित सम्वृद्धि’ मुद्दा दर्ता गरेका छन् ।

शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिमा मुद्दा किनारा नलाग्दासम्म चलचित्र प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा चलचित्र रिलिजको एक दिन अघि माघ १५ गते अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । निर्माताहरूले यो अप्रत्याशित आदेशले दर्शकहरूलाई असुविधा पुर्याएको र एक्टरका निर्माताबाट आर्थिक ब्ल्याकमेलिङको प्रयास भएको दाबी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अग्रिम टिकट बुकिङ मार्फत नेपालमा करिब ४० लाख रुपैयाँको टिकट बिक्री भइसकेको र विदेशमा पनि टिकट बिक्री भइसकेको अवस्थामा, एक्कासि प्रदर्शन रोक्नुपर्दा हामीले ठूलो आर्थिक क्षति व्यहोर्नु पऱ्यो भने मानसिक आघात पनि सहनुपरेको छ । यस कठिन परिस्थितिमा, हामीलाई अर्को पक्षबाट आर्थिक ब्ल्याकमेलिङको सामना गर्नुपर्यो, अदालत खुल्नु अगावै सहमति दिएको जस्तो गरी चलचित्र चलाउन सकिने भनियो । हाम्रो बाध्यताका कारण हामीसँग सो प्रस्ताव स्वीकार गर्नुको विकल्प थिएन ।’
निर्माताहरूका अनुसार, बाध्यतावश सहमति गरे पनि अहिले त्यस घटनालाई गलत ठहर गर्दै डायस्पोरा इन्टरटेन्मेन्ट प्रालि र सञ्चालक सम्राट थापाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो ।
निर्माताहरूले विवाद समाधान नभएसम्म नेपालभित्र आइतबारदेखि ‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्ने निर्णय लिएको जनाएका छन् । ‘मुद्दा किनारा लागेपछि चलचित्र पुनः प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस घटनाले नेपाली चलचित्र उद्योगमा कानुनी प्रक्रियाको महत्त्व पुनः सतहमा ल्याएको भन्दै निर्माताहरूले भविष्यमा यस्ता समस्याबाट बच्न सहकार्य र समझदारीको वातावरण निर्माण गर्न आग्रह गरेका छन् । साथै, कठिन परिस्थितिमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्दै दर्शकहरूको माया र सहयोगले आफूहरूलाई अघि बढ्न प्रेरित गर्ने बताएका छन् ।















प्रतिक्रिया