– नरेश केसी
भैरहवा, २३ असार । बहुमूल्य धातु सुनचादींको चोरीमा कम उमेर समुहका बालक र किशोरहरु सक्रिय भएको रुपन्देहीमा देखिएको छ ।
रुपन्देही प्रहरीको विश्लेषण अनुसार पछिल्लो एक महिनामा भएको सुन चोरीको अभियुक्तको रुपमा बालबालिका र किशोरहरु नै रहेका छन् । प्रहरीले बुधवार चोरीएको सुन र अभियुक्तहरुलाई सार्वजनिक गर्ने क्रममा यस्तो जनाएको हो । रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले बालबालिकाहरु चोरीमा लाग्नुको कारण बारे भने ः “बच्चा तथा किसोरहरुमा आएको छाडापन, अविभावकत्वको कमी, विद्यालयहरुको वेवास्ताले बच्चाहरु कुलतमा फस्न गई चोरीमा सक्रिय भएका छन्” बालक तथा किशोरहरु कुलतमा लाग्नेहरु कोही लागुऔषधलाई नियमित गर्न, कोही जाडरक्सीको जोहो गर्न त कोही हिप्पी बन्ने चक्करमा रहेको देखिन्छ ।
गत सोमबार भैरहवाका व्यवसायी निधानचन्द्र श्रेष्ठको घरबाट चोरीएको ५ तोला ६४ लाल सुन २४ घण्टापछि प्रहरीले अभियुक्त सहित पक्राउ गर्यो । पक्राउ पर्नेमा १४ वर्षका बालक सहित ३ जना किशोरहरु रहेका छन् । अनुसन्धानको क्रममा १४ वर्षीय बालक आश्रय श्रेष्ठ नै चोरीका नाईके भएको खुल्न आउँदा सबै आश्चर्यचकित भएका छन् । तीनैं श्रेष्ठको योजनामा रुपन्देही कोटिहवाकै १७ वर्षिय रविन थापा, १८ वर्षका राकेश सामद, वर्ष १८ का पडसरीका विजय थापा रहेका छन् । चोरीको अभियोगमा पक्राउ परेकाहरु रुपन्देहीका राम्रो महंगा निजी कलेज तथा विद्यालयका विद्यार्थी समेत हुन् । उनीहरुको पारिवारिक स्थिती पनि उच्च नै रहेता पनि कुलतका कारण चोरी कार्यमा संलग्न रहेको बुझिएको छ । चोरीका नाईके श्रेष्ठ यस अघि ७ पटक यस्ता चोरीको कार्यमा संलग्न रहेको बुझिएको छ । चोरी कार्यमा संलग्न बालकलाई प्रहरीले बाल सुधार गृहमा राखी कारबाही गरिने प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीले असार १ गते सुन चोरी मुद्दामा पक्राउ परेका अभियुक्तहरु पनि किसोर तथा बालबालिका रहेका थिए । तत्कालिन समयमा स्थानिय पत्रकार दीपक ज्ञवालीको घरबाट चोरीएको सुन सहित प्रहरीले १७ वर्षिय प्रेम थापामगर, १७ वर्षकै सुमन गुरुंग र सोही उमेरकै अर्का सुनिल परियारलाई पक्राउ गरेको थियो । तीनै जना अभियुक्तहरुलाई प्रहरीले थप अनुसन्धानकोलागी म्याद थप गरि प्रहरी हिरासतमा राखेकोछ । दुबै घरमा भएको चोरीमा संलग्न चोर र चोरीएको सुन पक्राउ गर्न वडा प्रहरी कार्यलय भैरहवाका प्रमुख प्रहरी निरीक्षक मेख बहादुर कुवंरको नेतृत्वको टोली सक्रिय भएको रुपन्देही प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीले सीमित स्रोत साधनका बीच पनि शहरी क्षेत्रमा दिउंसोको समयमा हुने चोरी तथा डाकांलाई नियन्त्रण गर्न अभियान नै चलाएको बताएकोछ । भारतीय खुल्ला सीमा र नेपालको जुनसुकै ठाऊबाट पनि सीधां बस सेवा भएको रुपन्देहीमा पुर्व देखी पश्चिम सम्मका बालकहरु आउने जाने गर्दछन् । ती बालकहरु चोरी कार्यमा सक्रिय भएको प्रहरीको विश्लेषण छ । चोरी कार्यमा उच्च, मध्ययम र निम्न वर्गिय समुदायका मानिसका छोराछोरी सक्रिय भएता पनि उच्च वर्गिय र निम्न वर्गिय परिवारका बालबालिका बढी सक्रिय भएको पाईएको हो ।
















प्रतिक्रिया