गौशाला, २३ असार । महोत्तरीको एकरहिया गाविस– ६ खैरबाबाट आएका दलित महिलाको एक समूहले जिल्ला वन कार्यालय घेराउ गरेका छन् ।
करिब ६० जनाको समूहमा आएका दलित महिलाले जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित वन कार्यालय घेराउ गरेका हुन् । महिलाहरुको समूहले वन कार्यालय घेराउ गर्नुका साथै कार्यालय प्रमुख सन्तमाया श्रेष्ठलाई कार्यकक्षमै थुनेका छन् ।
कार्यालय प्रमुख श्रेष्ठसहित वनका कर्मचारी मिलेर पीडित दलित महिलाको नाउँमा आएका काठ उपलब्ध नगराएको भन्दै उनीहरुले सो कार्यालय घेराउ गरेका छन्, भने आफूहरुलाई काठ नदिएसम्म कार्यालय प्रमुखलाई कार्यकक्षबाट निस्कन नदिने बताउँदै धर्नासमेत दिएका छन् ।
अत्ति गरिब र विपन्न परिवारका चमार र दुषाध जातीका महिलाले दुई वर्षअघि दैवी प्रकोपबाट पीडित भई जिल्ला वन कार्यालयमा सहुलियत दररेटमा काठ पाउनका लागि दिवेदन दिएका थिए ।
यसबारेमा कार्यालय प्रमुख श्रेष्ठले यसबारे केही थाहा नभएको बताउनुभयो । यसबारे आवश्यक अनुसन्धान गरिने उहाँको भनाइ छ । रासस















प्रतिक्रिया