७ कार्तिक २०८३, शनिबार

६ महिनाअघि विवाह गरेका सन्देशको भीरबाट लडेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन २३ असार । चितवन जिल्लाको दुर्गम पहाडी गाबिस लोथर ४ द्रुमबाङका २१ बर्षीय सन्देश चेपाङ्गको मनाङ्गमा भीरबाट लडेर ज्यान गएको छ ।

साथीहरुसंग मिलेर ज्यामी काम गर्न मनाङ्ग गएको अवस्थामा चारदिनअघि मनाङ्गको धारापानीमा काम गर्ने क्रममा लडेर ज्यान गएको मनाङ्गबाट सूर्यबहादुर चेपाङ्गले जानकारी दिएका छन् ।

६ महिनाअघि विवाह गरेका चेपाङ्गले बिबाहमा लागेको ऋण र बैशाख १२ को भूकम्पमा परी सखाप भएको घर पुनर्निर्माण गर्ने उद्देश्यका साथ गाउँका साथीहरुको साथमा २ महिनाअघि मनाङ्ग गएका थिए । उनको शवको हिजोमात्र पोष्टमार्टम पनि भएको जिल्ला प्रहरी कार्यालय मनाङ्गले जानकारी दिएको छ ।

गत बैशाख १२ गते गएको भूकम्पले चितवन जिल्लाको अत्यन्त क्षति भएको गाबिसमध्ये लोथर पनि एक हो भने वडा नं.४ को उक्त गाउँका अधिकांश घरहरु क्षतिगस्त भएका छन् । उक्त गाउँका अधिकांश युवाहरु ज्यामी काम खोज्दै मनाङ्ग लगायत विभिन्न जिल्ला गएका छन् ।

उक्त गाविसमा नै माध्यमिक विद्यालय नभएकोले उच्च शिक्षा अध्ययन गर्ने चेपाङ्ग नगन्य मात्रामा छन् । अशिक्षाका कारण कम जोखिम भएका काम पाउन मुस्किल भएकाले जोखिमयुक्त निर्माणका कामहरुमा त्यहाँका चेपाङ्गहरु दुर्गमका जिल्लाहरुसम्म धाउने गरेको गामबेसीको चेपाङ्ग संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले जानकारी दिनुभयो ।