७ कार्तिक २०८३, शनिबार

सप्तरीमा अजित सिंह नेतृत्वको मोर्चाले हतियार बुझायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatiyarसप्तरी, २२ असार । सरकारसँग दोस्रो चरणको वार्ता गरेको अखिल तराई मुक्ति मोर्चाले चार थान हतियार बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा सुरक्षाकर्मी र सञ्चारकर्मीको उपस्थितिमा ती हतियार बुझाइएका हुन् । अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाले सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवमार्फत हतियार बुझाएको बताइएको छ ।

मोर्चाका संयोजक यादवले एक थान १८ इञ्च लामो थ्रिनटथ्रि, एक थान कटुवा पेस्तोल र दुई थान सकेट बमलगायतका हतियार बुझाएको प्रजिअ यादवले राससलाई आज जानकारी गराउनुभयो ।

सप्तरीको लालापट्टी गाविस–२ निवासी मोर्चाका संयोजक यादवले यसअघि प्रजिअ यादवलाई दुई थान दुई नाल बन्दुक, दुई थान एक नाल बन्दुक र छ थान कटुवा पेस्तोलसमेत बुझाइसकेको उहाँले बताउनुभयो ।

प्रजिअ यादवले भन्नुभयो,“आफूसँग रहेका १३ वटै हतियार मोर्चाले सरकारलाई बुझाइसकेको छ ।” सप्तरीका प्रजिअ यादवलगायत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया, श्रीकृष्ण दल गणका कर्णेल भुवनेश्वर आचार्य, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक निरकृष्ण अधिकारीसहित सञ्चारकर्मीको उपस्थितिमा हतियार बुझाइएको थियो ।

गत बर्ष साउन २५ गते अजित सिंहलगायत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक कौटिल्य शर्मा भनिने सञ्जय गुप्ता, मधेसी भाइरस किलर्सका संयोजक जयप्रकाश यादव, जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समूहका महराज यादवलगायतसँग वार्ता गरी सहमति भएको थियो । रासस