७ कार्तिक २०८३, शनिबार

लमजुङको भोजेमा फेरि पहिरो, गाउँ नै सार्नुपर्ने बाध्यता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pahiroलमजुङ, २२ असार । बेँसीसहर-लमजुङको भोजे गाविस–६ मपिङ गाउँ लगातारको वर्षाका कारण पहिरो आएपछि जोखिममा परेको छ । गाउँ नजिकै ठूलो पहिरो गएपछि स्थानीयवासी त्रस्त भएका छन् ।

गाउँमाथि रहेको क्युँखो जङ्गलमा पहिरो गए पछि गाउँले त्रस्त भएका हुन् । जङ्गलको पहिरोबाट गाउँमा रहेको बौद्ध गुम्बा र सूर्योदय बालविकास केन्द्रको भवन पूर्णरुपमा क्षति भएको छ । पहिरोले सोही गाउँका वनसुब्बा गुरुङको घर र वासकुमारी गुरुङको धन्सारमा क्षति पु¥याएको गाउँलेले बताएका छन् ।

पहिरोसँगै झरेका ढुङ्गा उछिट्टिएर गाउँका अन्य घरमा समेत क्षति पु¥याएको स्थानीय समाजसेवी गमप्रसाद गुरुङले बताउनुभयो । पहिरोमा परी चितवन घर भई सोही गाउँमा काम गर्दै आएका शान्तकुमार चेपाङ पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोको जोखिमका कारण त्यहाँका २१ घरपरिवारलाई तत्कालै अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएको छ । हाल पहिरोको जोखिममा परेका घर परिवारलाई नजिककै जग्गामा राखिएको स्थानीय खमबहादुर गुरुङले जानकारी दिनुभयो ।

पहिरोले क्षति पु¥याएका स्थानीयवासीका लागि राहत सामग्री पठाई सकिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो ।

पीडितका लागि ५० थान त्रिपाल, १० बोरा चामल र खानेपानीका पाइप प्रहरीमार्फत पठाइएको उहाँले जानकारी दिनुभयो । भोजे गाविसको भोजे गाउँमा अघिल्ला वर्षदेखि नै पहिरो जाँदा ३३ घर जोखिममा परेकामा जिल्ला दैवी प्रकोप उद्धार समिति लमजुङले भोजेकै धनुजाबेँसीमा स्थानान्तरण गरेको छ ।

यसैबीच बेँसीसहर–भूकम्पका कारण जोखिममा रहेका लमजुङका झन्डै ४०० घरलाई स्थानान्तरण गरिने भएको छ । जिल्लाका १६ गाविसका ३६७ घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको हो ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको हालै बसेको बैठकले १५ दिनभित्र जोखिमयुक्त बस्ती स्थान्तरण गर्ने कार्ययोजनासहित गृहमन्त्रालयमा सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

दैवी प्रकोप उघार समितिले तत्काल चार महिनाका लागि जग्गाभाडाका लागि रकम, खाद्यान्न, त्रिपाललगायतका सामग्री माग गरेको उहाँले जानकारी दिनुभयो ।

दैवी प्रकोप उद्धार समितिले घर स्थान्तरण गर्दा आफ्नै जग्गा हुनेलाई जग्गा भाडाबापतको रकम उपलब्ध नगराउने बताएको छ । समितिले सम्भव भएसम्म सरकारी तथा सार्वजनिक जग्गा प्रयोगमा ल्याउन प्राथमिकता दिइने निर्णय गरेको पनि प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताउनुभयो ।

समितिको बैठकले पहिरोको उच्च जोखिम रहेका उत्तरी लमजुङको घेर्मु गाविसस्थित उपल्लो चिप्लाका २२ घरलाई सोही ठाउँको करपुचेमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

यस्तै पात्लेगाउँको ७७ घर देवीस्थान, दूधपोखरी गाविसको गैरीगाउँका ६९ घरलाई सोही गाविसको तोमाटेमा, इलमपोखरी गाविसको तप्रो गाउँका सात घर लाई सोही गाविसको घरेलबेँसीमा स्थानान्तरण गर्ने निर्णय भएकोे छ ।

यस्तै इलमपोखरी मुगेबजारका १९ घरलाई घरेलबेँसीमा, ठाडोस्वाँरा, सग्रवास, भानुस्वाराको ५० घरलाई लेपारचोक र देउरालीमा स्थानान्तरण गरिने भएको छ ।

गौँडा उम्लिस्वाँराका आठ घर स्थानीय बुधे आलेको निजी जमिन भाडामा लिएर राख्ने निर्णय भएको छ । त्यसैगरी ढोडेनी गाविसका तीन घरलाई छोटेखोलाबँेसीमा, चिती गाविसको कुसुन्डेका पाँच घरलाई थलाडाँडा चौरमा, श्रीमञ्जाङ गाविसको हाँडीखोलाका दुई घरलाई अलैंचेफाँटमा र भोजे गाविसको भोजेगाउँका ३३ घरलाई धनुजाबेँसीमा स्थानान्तरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै गौँडाकै हाँगुका २३ घरलाई सोही गाविसको सामुदायिक वन क्षेत्रमा, नौथर–८ को दलितबस्तीका २२ घरलाई जितौरे र ठूलाखेतमा, सार्दीखोलाको १६ घरलाई खुलाखेतमा स्थानान्तरण गरिने निर्णय भएको छ ।

यस्तै भलायखर्क गाविसको भेडेखर्कका तीन घरलाई सोही गाविसको साहिँलीटारमा, तीनघरेका आठ घरलाई पन्थेडाँडामा स्थानान्तरणमा गरिने भएको छ ।

गृहमन्त्रालयले अर्चलबोट, नौथर र गौँडाका जोखिमयुक्त बस्ती १५ दिनभित्र स्थानान्तरण गर्न निर्देशन दिएको थियो तर, भौगर्भिक अध्ययनका लागि आएको विशेषज्ञले एउटै रुटमा पर्ने तीन गाविसको मात्र अनुगमन गरेर गएकामा जिल्ला दैवी प्रकोप उद्धार समितिले जोखिममा रहेका अन्य गाविसका गाउँ पनि स्थानान्तरण गर्न सिफारिस गरेको हो । रासस